आइतवार, फाल्गुण २५ २०८१
नुवाकोट : नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा शनिबार तोडफोड भएको छ। बट्टार बजारमा रहेको सो क्याम्पसमा शनिबार बेलुकी विद्यार्थीहरूको सर्वदलीय बैठक भइरहेका बेला माइन्युट च्यातिएपछि सुरक्षाको विषयलाई लिएर भएको विवादमा तोडफोड भएको हो।
माइन्युट च्यातिएपछि आक्रोशित विद्यार्थीहरूले स्ववियु निर्वाचनको अधिकृतको कार्यालयमा कुर्सी, टेबुल र झ्यालका सिसाहरू फुटेका छन्, केही विद्यार्थी घाइते भएका बताइएको छ। स्ववियु निर्वाचनका लागि आवश्यक तयारीका लागि भइरहेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र बिप्लव विद्यार्थी संगठनले माइन्युट च्यातेर निर्वाचन भाँड्ने प्रयास गरेपछी तोडफोडको अवस्था आएको बताइएको छ। घटनामा निर्वाचन अधिकृत पूर्णबहादुर सडौलाको हात मर्केको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली क्याम्पस परिसर पुगेको छ। क्याम्पस प्रमुख नारायणमान डंगोलका अनुसार सामान्य विवादमा विद्यार्थीहरूले घटना घटाएको बताए।
आगामी चैत ५ गते तय भएको स्ववियु निर्वाचनमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा ६ वटा विद्यार्थी संगठनले दर्ता गरेका छन्। नेविसंघ, अखिल, अखिल (क्रान्तिकारी), नेविसंघ विपी, समाजवादी विद्यार्थी, अखिल समाजवादी लगायतका विद्यार्थी संगठन चुनावी मैदानमा रहेका छन्।