बुधवार, फाल्गुण २८ २०८१
फागुन, २८ गते/ काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ । सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिएका हुन्।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।
यसपटकको आन्दोलन निर्णायक भएको भन्दै चाँडोभन्दा चाडो विद्यालय शिक्षा ऐन अघि बढाउन उनले आग्रह गरे । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले यसअघि नै जनाएको छ । त्यस्तै, चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ ।

यसअघि हिजो विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै महासंघले हिजो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो । भने पर्सी (आइतबार) नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय गरेका छन।