शनिवार, चैत्र १ २०८१
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तगर्तका १४ वटा आंगिक क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने भएको छ। मतदाता सूची लगाएत विद्यार्थीहरुबिच विवादका कारण विभिन्न क्याम्पसहरुमा निर्धारित मितिमा स्ववियु निर्वाचन नहुने भएको हो ।
उपत्यका भित्र विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर सहित काठमाडौंको नेपाल ल, सरस्वती, विश्वभाषा र पब्लिक युथ क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन नहुने भएको हो । यसैगरी उपत्यका बाहिरका पश्चिमाञ्चल इन्जिनियरिङ, विराटनगरको डिग्री क्याम्पस, रामसागर बहुमुखी क्याम्पस, महेन्द्र मोरङ, सिद्धबाबा, सुर्खेत बहुमुखी, बुटवल बहुमुखी लगायतका आंगिक क्याम्पसमा पनि सदस्यता विवादका कारण निर्धारित मितिमा निर्वाचन नहुने भएको छ।
सदस्यताका विषयमा विद्यार्थी संघ-संगठनवीच विवाद देखिएपछि निर्धारित समयमा चुनाव गर्न नसकिएको विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार ४९ वटा आंगिक सहित ३ सयभन्दा बढी सामुदायिक क्याम्पसमा स्ववियु चुनावको तयारी करिब पूरा भएको छ । सदस्यता विवाद भएका क्याम्पसमा अन्य क्याम्पसमा स्ववियु चयन भएको १५ दिनभित्र चुनाव गरिने निर्देशनालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।