शनिवार, चैत्र ८ २०८१
चैत, ९ गते/ काठमाडौ। राष्ट्रिय पाठ्यक्रम परिषद्को बैठक पाठ्यक्रम सम्बन्धमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा राष्ट्रिय पाठ्यक्रम परिषद्का अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न तहका पाठ्यक्रम स्वीकृत/परिमार्जन तथा नयाँ विषय समावेश गर्ने निर्णय गरेको हो।
बैठकको प्रमुख निर्णयमा माध्यमिक तह (कक्षा ९-१०) को ऐच्छिक भूगोल विषयको पाठ्यक्रमलाई प्राप्त सुझावहरू समेटेर स्वीकृतिका लागि सिफारिस गरिएको छ। यसैगरी, मन्त्रालयले मातृभाषा तर्फ माध्यमिक तहको लिम्बू भाषा (कक्षा ९-१०), आधारभूत तहको बान्तवा राई भाषा (कक्षा ६-८), डोटेली भाषा (कक्षा १-३) र वायुङ राई भाषा (कक्षा १-३) को पाठ्यक्रम पनि स्वीकृत गर्न सिफारिस गरेको छ। यी निर्णयहरूले विद्यालय तहमा विभिन्न मातृभाषाहरूको अध्ययन अध्यापनलाई थप बल पुग्ने विश्वास लिइएको छ।
बैठकले गोन्पा शिक्षाको अनिवार्य र ऐच्छिक विषयको समूह मिलान गरी नयाँ संरचनालाई स्वीकृति दिएको छ। प्रस्तावित संरचना अनुसार नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित अनिवार्य विषय रहनेछन्। ऐच्छिक विषयहरूमा रहेका विषयमध्ये ३ ओटा समूहबाट कुनै २ ओटा विषय र विद्यार्थीहरूले थप अध्ययन गर्न चाहेमा चौथो समूहबाट एउटा विषय छनोट गर्न सक्नेछन्। यस नयाँ संरचनाले गोन्पा तथा विहारहरूमा अध्ययनरत विद्यार्थीहरूलाई थप व्यवस्थित र समयानुकूल शिक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसैगरी कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको नाममा एकरूपता कायम गरिएको छ। अब कक्षा ४-५, कक्षा ६-८ र कक्षा ११-१२ मा पनि कक्षा ९-१० कै जस्तै ‘सामाजिक अध्ययन’ नाम रहनेछ।
संस्कृत तथा गुरुकुल शिक्षालाई पनि समयानुकूल बनाउने प्रयासस्वरूप तन्त्रशास्त्र विषयलाई पाठ्यक्रममा थप गर्ने निर्णय भएको छ। तन्त्रशास्त्रलाई कक्षा ९ र १० को ऐच्छिक द्वितीय समूह र कक्षा ११ र १२ को ऐच्छिक पहिलो समूहमा समावेश गरिने भएको छ।