बिहिवार, चैत्र १३ २०८१
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रबिधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न भनेपछि शिक्षकहरू आक्रोशित हुँदै प्रतिबाद गरेका छन्। बिहीबार शिक्षाका लागि राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा सभापतिको अभिव्यक्तिको शिक्षकहरुले प्रतिबाद गरेका हुन् ।
कार्यक्रममा सभापति थापाको आन्दोलन स्थगित गर्नुस्,आन्दोलन गरेर पनि ऐन आउन नसक्ने भन्ने अभिव्यक्तिपछि नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली लगायत शिक्षकहरु आक्रोशित भई प्रतिबाद गरेका थिए ।
सभापति थापाले आन्दोलन स्थगित गरेर आफ्नो काममा फर्किन शिक्षकहरुलाई अनुरोध गरेका थिए। उनले शिक्षकमैत्री ऐन आउन नसकेको खण्डमा आफूले नै आन्दोलन आह्वान गर्ने समेत बताएका थिए। उनको सो अभिब्यक्ति पछि शिक्षकलाई अपमान गरेको र हेपेको भन्दै शिक्षकहरुले प्रतिबाद गर्दै आन्दोलन जारी राख्ने बताएका थिए।