बिहिवार, चैत्र २७ २०८१
काठमाडौं। आन्दोलनरत शिक्षक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबिच आज गरिएको प्रारम्भिक छलफलमा शिक्षकहरु ध्यानाकर्षण बुझाएर फर्किएका छन्। छलफलमा महासङ्घका प्रतिनिधिले पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका हुन।
छलफलमा नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरुले नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? त्यसबारे प्रस्टता मागेको बताइएको छ। विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुन सक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब हुनुको ठोस जवाफ महासङ्घले मागेको स्रोतले बताएको छ।
हामिले मन्त्रालयलाई ठोस जवाफ मागेका छौं। छलफलमा सहभागी प्रतिनिधिले भने, हाम्रो माग बारे स्पस्ट जवाफ आएको छैन। मन्त्रालयले कुनै पनि ठोस विषय नल्याएको र मन्त्रालयले भनेका विषयमा यस भन्दा अगाडी पनि धेरै पटक छलफल गरिएको हुँदा त्यसले कुनै नतिजा दिदैन।'
यद्यपि मन्त्रालयबाट सम्बोधन गर्नु पर्ने विषय जस्तै इसिडि तथा विद्यालय कर्मचारीको पारिश्रमिकका सवालमा समस्या समाधान गर्न मन्त्रालय तयार रहेको र विद्यालय शिक्षा ऐन ल्याउने सन्दर्भमा राजनीतिक दलका प्रमुख सचेतक राखेर छलफलबाट टुंग्याउन आग्रह गरिएको लगायतका विषय राखिएको जनाएको छ । यसैगरी मर्यादाक्रमको सवालमा गृह मन्त्रालय मार्फत छलफल गरेर टुङ्ग्याउन मन्त्रालय तयार भएको सवाल पनि उठाइएको जनाएको छ ।
छलफलमा सहभागी प्रतिनिधिका अनुसार छलफल भोलि पनि चल्नेछ। र शिक्षकका मागहरु पूरा हुने र ऐन ल्याउने बिधिका बिषयमा मन्त्रालयले स्पष्ट खाका ल्यायोभने बार्ता सकारात्मक हुने छ। आजको छलफलले भने शिक्षकहरुलाई उत्साह थप्दैन छलफलमा सहभागी प्रतिनिधिले भने।