सोमवार, बैशाख ८ २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई तत्काल वार्तामा आउन आह्वान गरेका छन् । सोमबार (वैशाख ८) काठमाडौंमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको सम्मलेनमा उनले सहमति गरेर कार्यक्षेत्रमा फर्कन शिक्षकलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले ५२ प्रतिशत फेल गराउने भनेकामा शिक्षकले चित्त दुखाउन आवश्यक नरहेको बताए। प्रधानमन्त्रीले भने “५२ प्रतिशत फेल गराउने भन्यो भनेर कतिपयले चित्त दुखाउनुभयो भन्ने सुनेको छु । यो चित्त दुखाउने कुरा होइन । गत वर्ष ५२ प्रतिशत विद्यार्थी फेल भए, त्यो दुःखलाग्दो कुरा हो,” ।
उनले नेपाल शिक्षक महासंघले औपचारिक वार्ता नै नगर्ने भनेकामा आपत्ति जनाए । “सरकार सम्भव हुने माग पूरा गर्छ । तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्,” उनले भने, “औपचारिक वार्तै गर्नु हुन्न भन्ने अनौठो सुनेको छु आन्दोलन । वार्ता नगर्ने के भन्या त्यो ? वार्तामा आउनुुस्, कुरा गर्नुस् । सम्भव कुरा सरकारले गर्दिन्छ । फर्केर आ–आफ्ना काममा जानुुस् ।”
कार्यक्रममा प्रधानमन्त्रीले “एसईईको औचित्य पनि सकिएको बताए। खुरुखुरु अरू कक्षाजस्तै परिक्षा गरौ। एसएलसी त भएन । उच्च शिक्षामा प्लस टु भइसकेपछि त एसएलसीको सक्यो भने एसईई किन राख्या ? त्यसको आवश्यकता देखिँदैन । यसतर्फ पनि सरकारले विचार गर्छ,” उनले भने । अरूजस्तै १० कक्षाको परीक्षा लिँदा हुने उनले बताए । “कक्षाले नै परीक्षा सञ्चालन गरे पुगिहाल्छ । अनावश्यक केन्द्र भन्या छ । अतिरिक्त खर्च भन्या छ । अनावश्यक तनाव झेलेको छ । त्यो सबै एसईईका लागि किन गर्नुपर्यो ? र, विद्यार्थी फेल गर्दिएर मारमुंग्री चलाउने संस्था किन चाहियो ? विद्यार्थीलाई स्मुथली पढ्न दिने वातावरण बनाउनुपर्छ,” उनले भने ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सामुदायिक विद्यालयमा भर्ना नभएपछि विद्यार्थी निजीमा जाने जोखिम औँल्याए । “भर्ना छोडेर उहाँहरू यहाँ बसिरहनुभएको छ । सामुदायिक विद्यालयमा भर्ना नहुने, त्यसो भएपछि त निजी विद्यालयमा भर्नाको लहर जाने भयो,” उनले भने, “उहाँहरूलाई पनि कुनै लाभ छैन । विद्यार्थीलाई घाटा छ । अभिभावकलाई पीडा छ ।”
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा ऐनका निम्ति यतिविघ्न दुःख गर्नु नपर्ने समेत बताए । उपयुक्त समयमा कापी जाँच गरेर ‘रिजल्ट’ निकाल्न पनि शिक्षकलाई उनले आग्रह गरे । समयमै रिजल्ट नगर्दा विदेशका क्याम्पसले नपर्खने उनको भनाइ थियो । उनले प्रतिगामी सल्बलाएका बेला साथ पुर्याउने गरी आन्दोलन किन ? भन्दै शिक्षकलाई प्रश्न गरे ।