बुधवार, बैशाख १० २०८२
काठमाडौ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उपसमितिको प्रतिवेदन आउने बित्तिकै विद्यालय शिक्षा विधेयक अघि बढ्ने जानकारी दिएका छन्। प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख घिमिरेले यस्तो धारणा व्यक्त गरेका हुन्।
छलफलमा सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।
छलफलमा बजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ,’ सभामुख घिमिरेले भने, ‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ ।’ उनले उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको पनि बताए।