मंगलवार, बैशाख १६ २०८२
काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा भईरहेको आन्दोलनको आज २७औं दिन जारी रहेको छ। पटकपटक भएका छलफलमा समेत सहमति जुट्न सकेको छैन।
यसै क्रममा सरकार र शिक्षक महासंघबीच सोमबार मध्यरात शिक्षा मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । दुवै पक्षले आआफ्ना अडान राखेपछि सहमति जुट्न नसकेको हो।
बिद्यालय शिक्षा ऐन कसरी टुङ्गोमा पुर्याउने भन्ने बारे सबै कोणबाट छलफल भएकाले मंगलबारसम्म सहमतिमा पुग्नेगरी छलफल सकिएको बताइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पनि आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता सहमति नजिक पुगेको जनाए । वार्ता सकारात्मक भए पनि सहमतिमा पुग्न नसकिएको उल्लेख गर्दै उनले भने, 'राम्रो छलफल भएको छ । छिटोभन्दा छिटो एउटा टुंगोमा पुग्न तयार छौं । भोलिसम्म सहमति हुने आशा गरौँ ।'
आफूले प्रस्ताव गरेका नौ बुँदामा मन्त्रिपरिषद्बाट निर्णय गराए आन्दोलनको स्वरुप बदलेर शिक्षा ऐनका लागि दबाब दिन महासंघ तयार देखिएको छ ।