आइतवार, जेठ ५ २०८२
काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिले संसदको शिक्षा समितिलाई प्रतिवेदन पेश गरेको छ। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन संसदको शिक्षा समिति द्वारा गठित उपसमितिले ४५ दिन लगाएर तयार पारेको प्रतिवेदन पेश गरेको हो।
आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले १५ परिच्छेद र १६३ दफा रहेको विधेयकमा १०८ बुँदाको प्रतिवेदन बुझाएको छ। विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिलाई दुई पटक गरी कुल ४५ दिनको समय दिएको थियो। पहिलोपटक गत चैत ८ गते ३५ दिनको समय दिइएकोमा, दोस्रो पटक वैशाख २२ गते थप १० दिन समय थप गरिएको थियो।
असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने लक्ष्य अनुसार उपसमितिले विधेयकमा १५८ घण्टा ४५ मिनेट लामो छलफलपछि प्रतिवेदन तयार पारेको हो ।
उपसमितिले २ वटा विषयहरू निजी विद्यालयहरूलाई गुठीमा लैजाने र प्रारम्भिक बाल विकास शिक्षा कति वर्षको हुने भन्ने बाहेकका अन्य दफाहरूमा सहमतिका आधारमा पारित गरेको हो ।
अब समितिमा प्रतिवेदनमाथि छलफल भएपछि प्रतिनिधिसभामा विधेयक पेस गरिनेछ। त्यसका लागि समितिको बैठक जेठ ७ गतेका लागि बोलाइएको छ ।