शनिवार, जेठ ११ २०८२
जेठ, १० गते/ काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन समितिले अन्तर- विद्यालय हस्तलेखन प्रतियोगिता आयोजना गरेको छ। शुक्रवार ठुलोभर्याङ्स्थित लिटिल क्लाइम्बर्स स्कुलमा नागार्जुन प्याब्सन सदस्य विद्यालय अन्तर्गतका २८ विद्यालयबीच हस्तलेखन प्रतियोगिता आयोजना गरेको हो।

हस्तलेखन प्रतिस्पर्धामा नागार्जुन नगरपालिका भरिका २८" वटा प्याब्सन सदस्य विद्यालयहरुको सहभागीता रहेको थियो। प्रतिस्पर्धामा कक्षा १ र २ का विद्यार्थीहरु सहभागी रहेका थिए। उक्त कार्यक्रम ठुलोभर्याङस्थित लिटिल क्लाइम्बर्स स्कुलमा गरिएको थियो। कार्यक्रम नागार्जुन प्याब्सनका सचिव प्रकाशमान शाहिले संचालन गर्नुभयो।

प्रतिस्पर्धामा नेपाली हस्तलेखन तर्फ चेतना सदन स्कुलले प्रथम स्थान हासिल गर्यो। त्यस्तै रिड मोडेल स्कुल द्वितीय, द एक्सेल पब्लिक स्कुल तृतीय र निर्भाना एकेडेमीले चौथो स्थान हासिल गरे। त्यसैगरी अंग्रेजी (Handwriting Competition) तर्फ रेडियण्ट पब्लिक स्कुलले पहिलो स्थान हासिल गर्यो। त्यस्तै अमृत हेलर एकेडेमी द्वितीय, मण्डला इन्टरनेसनल स्कुल तृतीय र मर्स्याङ्दी बोर्डिङ स्कुलले चौथो स्थान हासिल गरे।

प्रतियोगितामा अंग्रेजी र नेपाली दुवैमा पाँचौ स्थान ज्योती एकेडेमीले हसिल गर्यो। प्रतिस्पर्धामा पहिलो द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यालयहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।


हस्त लेखन प्रतिस्पर्धाको पुरस्कार वितरण कार्यक्रम नागार्जुन प्याब्सनका अध्यक्ष बाशुदेव घिमिरेको सभापतित्वमा र प्याब्सन काठमाडौँ जिल्लाका अध्यक्ष नवराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
उक्त कार्यक्रममा आयोजक स्कुल लिटिल क्लाइम्बर्सका प्रिन्सिपल दिलिप रेग्मिले स्वागत मन्तव्य दिनुभयो। प्रिन्सिपल रेग्मीले हस्तलेखन प्रतिस्पर्धाले विद्यार्थीको चौतर्फी बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्टले प्रतिस्पर्धामा कक्षा १ र २ का विद्यार्थीहरुलाई सहभागी गराउनु अत्यन्तै उत्कृष्ट कार्य भएको बताउनुभयो। प्रतिस्पर्धाले बालबालिकाहरुमा स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गर्ने भन्दै विद्यालयबाट छनोट भएर आउनु नै जित हो, अध्यक्ष भट्टले भन्नुभयो।

हस्तलेखन विद्यार्थीको लागि महत्त्वपूर्ण हुने भन्दै हरेक परीक्षामा शिक्षकले हेर्दा पहिलो उसको दृष्टिकोण जाने अक्षरमा नै हो। त्यसैले अक्षर राम्रो भए सकारात्मक प्रभाव पर्ने बताउनुभयो। अध्यक्ष भट्टले सहभागी बालबालिकाहरुलाई उत्साहित बनाउदै लेख्न अल्छी गर्न नहुने बताउनुभयो।

एक अर्को प्रसंगमा अध्यक्ष भट्टले यो देशमा संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा ठूलो भुमिका खेलेको बताउनुभयो । उहाँले राज्यले संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने समेत बताउनुभयो।
उक्त कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिका प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेले हस्तलेखन प्रतिस्पर्धामा विजेता र सहभागी सबै बालबालिकाहरुलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले विद्यार्थीहरुको चौतर्फी बिकासको लागी नागार्जुन प्याब्सनले धेरै जसो अन्तर विद्यालय प्रतिस्पर्धात्मक खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलाप आयोजना गर्ने बताउनुभयो।

उक्त कार्यक्रममा प्याब्सन काठमाडौ जिल्ला उपाध्यक्ष, सुर्य बहादुर केसी, जिल्ला सदस्य जयराम चापागाईं, गोविन्द पंगिनी, सुगन्ध राज रेग्मी, नागार्जुन उपाध्यक्ष डिवी ढकाल, कोषाध्यक्ष - हिरालाल खनाल, प्याब्सन महाधिवेशन प्रतिनिधि युवराज बस्ताकोटी, लगाएत नागार्जुन सदस्य विद्यालयका संचालक, प्रिन्सिपल तथा शिक्षक कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो।




