Jul 27 2026 | २०८३, श्रावण ११ गते

पानको दोस्रो बृहत् सम्मेलन जेठ २३ र २४ गते पोखरामा हुने।

पानको दोस्रो बृहत् सम्मेलन जेठ २३ र २४ गते पोखरामा हुने।

  • 607
    SHARES

  • पानको दोस्रो बृहत् सम्मेलन  जेठ २३ र २४ गते पोखरामा हुने।

    जेठ, १० गते/ पोखरा । सामुदायिक विद्यालय प्रधानाध्यापकहरूको साझा संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN)को दोस्रो बृहत् सम्मेलन पोखरामा हुने भएको छ । पानले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी जेठ २३ र २४ गते दोस्रो बृहत् सम्मेलन हुने जानकारी दिएको हो ।

    प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN)का अध्यक्ष सुदाम प्रसाद गौतमले पत्रकार सम्मेलनमा बोल्दै दुई दिने सम्मेलनमा कुल २८ वटा सेसनमा छलफल हुने जानकारी दिनुभयो । विद्यालयले गरेका असल अभ्यासका बारेमा एक अर्कालाई बताउने कार्य सम्मेलनमा हुने उहाँले बताउनुभयो । उक्त सम्मेलनमा ‘प्यान अवार्ड २०८२’ वितरण गरिनेछ ।

    अध्यक्ष गौतमले यो संस्था गैर–राजनीतिक र गैर–नाफामूलक संस्था भएको बताउनुभयो । आफूहरूले नेपालका २७ हजार ९ सय भन्दा बढी विद्यालयमा नेतृत्व गरिरहेको अध्यक्ष गौतमले प्रत्येक वर्ष फरक–फरक प्रदेशमा नयाँ अवधारणामा आधारित रहेर राष्ट्रिय सम्मेलन गर्दै आएको बताउनुभयो । उक्त सम्मेलनमा १ हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुखहरू, विदेशी प्रतिनिधिहरू र नीति निर्माताहरूको सहभागिता हुने गौतमले जानकारी दिनुभयो।

    पत्रकार सम्मेलनमा संस्थाका गण्डकी प्रदेश अध्यक्ष वामदेव पौड्यालले PAN ले प्रत्येक प्रदेशबाट उत्कृष्ट आधारभूत र माध्यमिक विद्यालय, प्रधानाध्यापक र उत्कृष्ट पालिका तथा एक महानगर वा उपमहानगरलाई सम्मान गर्ने बताए । प्रत्येक प्रदेशबाट एक जना बहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित गर्ने गत वर्षको अभ्यासलाई निरन्तरता दिइने उनको भनाइ छ ।

    सम्मेलनमा छनोट समितिले विद्यालय, पालिका र प्रधानाध्यापकहरूबाट प्राप्त आवेदन तथा सिफारिसलाई आधार बनाई २५ वटा मापदण्डका आधारमा निष्पक्ष छानबिन गरेर अवार्ड दिइने छ। प्यानका कार्यक्रमहरूले प्रधानाध्यापकहरूको आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्वमा नवीन दृष्टिकोण ल्याउने उल्लेख गरिएको छ ।

    सामुदायिक विद्यालयहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र संयुक्त राष्ट्रसङ्घजस्ता संस्थासँग सहकार्य गरी विद्यालयको क्षमता विकास गर्न प्यानले जोड दिने गण्डकी प्रदेश अध्यक्ष पौड्यालले बताए ।

    PAN ले आगामी दिनमा विद्यालयबीचका असमानता घटाउने, शिक्षक र प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने र नवीनतम प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्ने योजना बनाएको छ। उक्त सम्मेलनबाट पोखरा घोषणापत्र जारी समेत हुने आयोजकको भनाइ छ । सामुदायिक विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने समेत यो संस्थाको उद्देश्य रहेको जनाइएको छ ।

    images
    शनिवार, जेठ ११ २०८२१०:२९:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार