शुक्रवार, जेठ १७ २०८२
जेठ, १६ गते/ बिराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनु पर्ने बताएका छन् । सरकारले आर्थिक वर्ष २०८२ र ०८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको भन्दै महरले यस्तो धारणा राखेका हुन्।
विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट छुट्याइने उल्लेख भए पनि १० प्रतिशत मात्रै छुट्याइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको घोषणापत्र र चुनावताका जनता माँझ गरेका प्रतिबद्धता एकातिर र हालको बजेट अर्कातिर देखिएको महरले औँल्याए ।
बजेटमाथिको छलफलमा संशोधन राखेर शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउनु अपरिहार्य छ । यसो हुन सकेमा मात्र कक्षा १२ सम्म निःशुल्क, गुणस्तरीय, व्यवहारिक, जीवनोपयोगी, प्रविधिमैत्री शिक्षा लागु गर्न सकिन्छ । यसका साथै, विश्वविद्यालयमा अनुसन्धानमूलक र प्राविधिक शिक्षाको व्यवस्थित कार्यान्वयन गर्न सकिन्छ, उनले भने ।
शिक्षामा २० प्रतिशत बजेट विनियोजन भए मात्रै शिक्षक, प्राध्यापकका सेवा सुविधा, तालिम, शिक्षाभित्रका पूर्वाधारलगायत समग्र शिक्षा क्षेत्रको विकास गर्न सकिने उनले बताएका छन् ।
बजेटबारे थप टिप्पणी गर्दै उनले भने, बजेटले कृषि, पर्यटन, ऊर्जा, औद्योगीकरण र पूर्वाधारलाई प्राथमिकता दिँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेको छ। तर, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता र विगतका सिकाइको प्रयोगमा स्पष्टता अभाव देखिन्छ ।
पुँजीगत खर्चको कमजोरी, राजस्व र ऋणको यथार्थता तथा कार्यान्वयन संयन्त्रको अभावले यसको प्रभावकारितामा प्रश्न उठाउने महरले बताएका छन्। सामाजिक क्षेत्र, मानव पुँजी र नवप्रवर्तन तथा अनुसन्धान जस्ता दीर्घकालीन विषयमा लगानी कम देखिएको उनको भनाइ छ।