सोमवार, जेठ २७ २०८२
जेठ, २६ गते काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) काठमाडौँ जिल्लाद्वारा आयोजित तीन दिने प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न गरिएको छ। आइतबार बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कुलमा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टको सभापतित्व तथा पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक युवराज पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यशालामा अंग्रेजी, नेपाली, गणित, बिज्ञान, समाजिक लगाएत सबै बिषयका करिब २५० भन्दा बढी बिषय शिक्षकहरु सहभागी रहेका छन्। विभिन्न विषयका विज्ञहरुले विषयवस्तुमाथि प्रकाश पार्दै नयाँ पाठ्यक्रमले लिएको लक्ष्य हासिल गर्न शिक्षकको काम र कर्तब्यबोध गराउन र प्रश्नपत्र निर्माण गर्न सघाउ पुग्ने बिश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा परिक्षा बिभाग प्रमुख किशोर पौडेलले कक्षा कोठामा पढाएर मात्रै शिक्षकको कर्तव्य पूरा नहुने भन्दै पाठ्यक्रमको उद्देश्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रश्नपत्र निर्माण प्रक्रिया वैज्ञानिक हुनुपर्ने र शिक्षकले हचुवामा नभई विद्यार्थीको वास्तविक ज्ञानको तह मापन गर्नसक्ने गरी प्रश्नपत्र निर्माण र आन्तरिक मूल्यांकनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक युवराज पौडेलले प्रश्नपत्र निर्माण कार्यशाला अत्यन्तै जरुरी भएको भन्दै तीन दिने तालिमबाट शिक्षकहरुमा निखारता आउने बिश्वास गर्नुभयो। साथै कार्यशालाको परिणाम भने नियमित मुल्यांकन र आवदिक मुल्यांकनबाट देखिने बताउनुभयो। कार्यशालामा सिकिएको कुराले जीवनमा परिवर्तन ल्याउनुका साथै व्यावसायिक जीवनमा निखारता ल्याउने बताउनुभयो । त्यसैगरी पौडेलले तीन दिने कार्यशालाले प्रतिस्पर्धी नागरिक तयार बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

उहाँले शिक्षकहरुको बिज्ञता पाठ्यक्रम बिकास केन्द्रलाई चाहिने भएकोले शिक्षक जति तालिमप्राप्त भयो, शिक्षाको गुणस्तरमा पनि त्यतिनै परिवर्तन ल्याउन सकिने बताउनुभयो। कार्यशालाले कक्षाकोठा भित्रको सिकाइ प्रभावकारी बनाउन कार्यशाला गोष्टिले महत्वपूर्ण भुमिका खेल्ने र सबै विद्यार्थीलाई समानन्तर रेखामा पुर्याउन सफल हुने बिश्वास लिनुभयो।

कार्यशाला गोष्ठीमा पाठ्यक्रम बिकास केन्द्रका उपमहानिर्देशक हरि प्रसाद निरौलाले तीन दिन दम्म ट्रेनिङ दिनुभयो। उहाँले पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरु के कति हासिल भयो भनी मापन गर्ने प्रमुख आधार नै परीक्षा भएकोले प्रश्नपत्रको स्तरीयतामा विशेष ख्याल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै सभापती तथा काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले कार्यशाला प्रश्नपत्र निर्माण गर्ने कुरामा तालिम केन्द्रित रहेको बताउनुभयो। उहाँले कार्यशाला गोष्ठीपश्चात् कक्षाकोठा भित्रको सिकाइ प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

तीनदिने कार्यशालाको समापनसत्रमा वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदर्शन थापाले स्वागत मन्तव्य दिनुभयो। त्यस्तै कार्यक्रम संचालन प्याब्सन काठमाडौँ जिल्ला सह-सचिव शिव अर्यालले गर्नुभयो।

समापन समारोह पश्चात् कार्यशाला गोष्ठीमा सहभागीहरु मध्येबाट केही शिक्षकहरुले तीन दिन सम्म चलेको कार्यशाला गोष्ठी अत्यन्तै महत्वपूर्ण रहेको भन्दै विद्यालयमा फर्केर सिकेका कुरा शिक्षकहरुबीच आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।




