शुक्रवार, जेठ ३१ २०८२
जेठ, ३० गते/ धुलिखेल। काठमाडौँ विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा धुलिखेलस्थित केन्द्रीय क्याम्पसमा आयोजित समारोहमा स्कुल अफ मेडिकल साइन्सेजबाट ६६१ जना, स्कुल अफ आर्टसबाट १६३ जना, एजुकेसनबाट १०२ जना, मेनेजमेन्टबाट ११० जना, इन्जिनियरिङबाट ६८ जना र साइन्सबाट २५ जना विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलिले प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो। अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गर्नुभयो ।
नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उहाँले नेपाल सानो राष्ट्र भए पनि स्वाधिनताका साथ बसेको स्पष्ट गर्नुभयो । “दुनियामा नेपाल नेभर कोलोनाइज्ड हो । यो कसैको मातहतमा रहेन र रहँदैन पनि । हामी सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पूर्खाले चक्कुको सहारमा हराएर देशको स्वाधिनता बचाएका हुन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका ओलीले भन्नुभयो, “नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।” उहाँले इतिहासका तथ्यहरुले पहिले देखि नै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपिललगायत जस्ता बनस्पतीको महत्व पूर्खाले नै पत्ता लगाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षत्र, ब्रम्हाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने बताउनुभयो । “पूर्वजदेखिनै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो”, उहाँले भन्नुभयो ।