बुधवार, आषाढ ४ २०८२
४ असार दैलेख। जिल्लाको भगवतीमाई गाउँपालिका–७ स्थित भैरव माध्यमिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधहरु विद्यालय बन्द गरेर शैक्षिक भ्रमणमा निस्किएका छन्। असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यार्थीको पढाइ नै रोकेर परिवारसहित भ्रमणमा गएका हुन।
यसरी भ्रमणमा गएका भन्दै स्थानीय स्तरमा आलोचना सुरु भएको छ। उनिहरुले विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै बुधबारदेखि ७ दिनका लागि विद्यालयमा तालाबन्दी गरेका छन् । नमुना विद्यालय कार्यक्रमअन्तर्गत शिक्षा विभागबाट प्राप्त ६ लाख रुपैयाँ अनुदान खर्च गर्न यो भ्रमण आयोजना गरिएको बताइएको छ।
बुधबार बिहानै विद्यालयबाट बस रिजर्भ गरेर भ्रमण टोली हिँडेपछि सयौँ विद्यार्थीको पठनपाठन ठप्प भएको छ। भ्रमणमा वडा अध्यक्ष र व्यवस्थापन समितिका सदस्यहरूले आफ्ना आफन्तजस्ता असम्बन्धित व्यक्तिहरूलाई समेत लगेको आरोप छ।
विद्यालयका सहायक प्रधानाध्यापक चित्र थापाले यो कदम नमुना विद्यालय कार्यक्रमको नीतिविपरीत र पूर्णतः मनोमानी भएको बताए। ‘कार्यक्रम सञ्चालन समितिलाई कुनै जानकारी नदिई एकलौटी निर्णय गरियो। त्यसैले, म लगायत धेरै शिक्षकहरू यो भ्रमणमा गएका छैनौँ,’ थापाले भने।