बिहिवार, आषाढ ५ २०८२
काठमाडौँ /५ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक भएको बताउनुभएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
शिक्षा समितिमा समेत कहिले काहीँ यस्ता विषय उठ्ने गरेको उल्लेख गर्दै सामुदायिक विद्यालयमा विद्यार्थी फर्केर आउने आम जनाताको चाहाना रहेको कुरालाई शिक्षकहरूले बिर्सन नहुँने बताउनुभयो। उहाँले समितिमा बेला बेला यो शिक्षा विधेयक भयो की शिक्षक विधेयक भयो भन्ने छलफल हुने गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘समितिमा बेला बेलामा छलफल हुन्छ । यो शिक्षा विधेयक भयो की शिक्षक विधेयक भयो भनेर । साँच्चै भन्दा खेरी यो शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक भएको छ । शिक्षा प्रणालीको बारेमा यो विधेयक निर्माण गर्दा नै शिक्षा प्रणालीलाई कसरी राम्रो गर्ने हो भन्ने बारेमा यथेष्ट राख्न सकिएको छैन । तर धेरै विषयहरू शिक्षकहरूसँग सम्बन्धीत छन् ।’

शिक्षकका समस्याहरू पनि लामो समयदेखि थपिदै-थपिदै गुजुल्टीदै-गुजुल्टीदै अनेक जटिल हुँदै आएका र ति सबै समस्याहरू अहिले सम्बोधन गर्न खोज्दा सरकारलाई अप्ठेरो पर्दै आइरहेको उहाँको भनाई छ ।
साथै समस्याका गाँठो फुकाउने प्रयत्न तर्फ सरकार अग्रसर भईरहेको बताउँदै सकेसम्म यही असार १५ गते विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने प्रयास गरिने बताउनुभयो ।