शुक्रवार, आषाढ ६ २०८२
६ असार, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकका सबै माग पूरा गर्न नसकिने बताएका छन्। बिहीबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा बोल्दै मन्त्री पन्तले सो कुरा बताएका हुन्।
‘असार १५ गतेसम्ममा शिक्षा विधेयक-२०८० संसद् पुगोस् भन्ने नै छ। विधेयक आएपछि शिक्षकहरूका धेरै माग पूरा होलान्। शिक्षामन्त्री पन्तले भने, संसारमा १०० मा १०० माग कसैका पनि पूरा हुँदैनन्। पूरा गर्न पनि सकिँदैन। मागहरू कति उचित छन् भन्ने हुन्छ। मागहरूलाई देशको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्ने हेरिन्छ। सबैलाई हेरेर बढीभन्दा बढी माग समेट्न सकियोस् भन्ने शिक्षा मन्त्रालयको प्रयत्न छ। विधेयकमा सामेल गर्ने प्रयत्न गरिरहेका छौं।’
कार्यक्रममा मन्त्री पन्तले ‘साँचो भन्ने हो भने यो शिक्षा विधेयकभन्दा पनि शिक्षक विधेयक भएको’ टिप्पणी गरे। उनले भने, ‘शिक्षा प्रणालीलाई कसरी सुधार गर्ने भन्ने विषय विधेयकमा पर्याप्त रूपमा समेटिएको छैन। धेरै कुरा शिक्षकसँग सम्बन्धित छन्।’ मन्त्री पन्तले सरकार शिक्षकको जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहे भन्दै विद्यार्थी र अभिभावकका अपेक्षा शिक्षकले पूरा गर्नुपर्ने बताए।
पन्तले माघ २० देखि वैशाख १७ गतेसम्मको शिक्षक आन्दोलनका कारण भएको पढाइको क्षति पूरा गर्न आग्रह गरे। उनले भने, ‘तपाईँहरूका माग सरकारले पूरा गर्दै जाने र अभिभावक र विद्यार्थीका मागहरू अधुरै रहने अवस्था उत्पन्न हुनुहुँदैन। शिक्षक आन्दोलनको अवधिमा भएको पढाइको क्षति पूरा गरियोस्। विद्यार्थीको पढाइ राम्रो होस्। सार्वजनिक र सामुदायिक विद्यालयमा विद्यार्थी आउने वातावरण बनोस्।’