शनिवार, आषाढ ७ २०८२
असार, ७ गते/ काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ महानगरद्वारा आयोजित एकल गायन प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार प्याब्सन काठमाडौँको महागरपालिकाको आयोजना गंगोवुस्थित महर्षि स्कुल/कलेजको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

उक्त प्रतियोगितामा ४० जना विद्यार्थीहरुले देशभक्तिले ओतप्रोत भएका आधुनिक तथा लोकगीतहरु गाएका थिए भने विद्यार्थीहरुले गीत गाउँदा त्यहाँको माहोल देशभक्ति गीतहरुले गुञ्जिएको थियो।

उक्त एकल गायन प्रतियोगितामा अक्सिडेन्टल पब्लिक स्कुलकी दीक्षा उप्रेतीले प्रथम स्थान हासिल गरिन। त्यस्तै मनास्लु पब्लिक स्कुलका सुर्य डंगोल द्वितीय स्थान, बोधिसत्य नेशनल स्कुलका सलिन गुरुङले तृतीय स्थान हासिल गरे। त्यसैगरी बेबिलोन स्कुलकी सुरब पौडेल र युरो स्कुलकी शान्वी बिष्टले प्रोत्साहन पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।
एकल गायन प्रतियोगिता समारोह महर्षि स्कुल/ कलेजका अध्यक्ष प्रकाश चन्द्र दवाडीको सभापतित्व तथा नागार्जुन प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा प्याब्सन काठमाडौँ महानगरका अध्यक्ष गगनसिंह ऐरि हिसानका सचिव तथा नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीको बिशेष आतिथ्यता रहेको थियो भने अन्य अतिथिको रुपमा काठमाडौ जिल्ला प्याब्सनका सदस्यहरु, महानगरका पदाधिकारीहरु, विभिन्न स्कुल कलेजका प्राचार्यहरु लगाएत शिक्षक अभिभावकहरुको उपस्थिति रहेको थियो।

प्रतियोगितामा बोल्दै प्रमुख अतिथि वासुदेव घिमिरेले विद्यार्थीको सर्बाङ्गिण बिकासका साथै प्रतिभा प्रस्फुटनको लागि गायन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले निजि विद्यालयहरू घोगन्ते मात्रै हुन, अंग्रेजी मात्रै पढाउछन भन्ने आरोपको खण्डन गर्दै गायन प्रतियोगिताले पढाईका अलावा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि समेत निजि विद्यालयहरु उद्धत रहन्छन भन्ने पुष्टि गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा प्याब्सन महानगरका उपाध्यक्ष रबिन बस्नेतले कार्यक्रमको औचित्य सहित मन्तव्य दिनुभयो। उक्त समारोह काठमाडौँ महानगरका सचीव आरसी भट्टले कार्यक्रम संचालन गर्नुभयो। उक्त कार्यक्रममा निर्णायकको रुपमा राष्ट्रिय कलाकार कुन्ती मोक्तान र संगिता प्रधान राना रहेका थिए।





