आइतवार, आषाढ १५ २०८२
असार, १५ गते। काठमाडौ बर्नहार्ट स्कुल/कलेजले स्थापनाको २५औं वर्ष पुरा गरेको छ। बि.सं.२०५७ साल असार १४ गते स्थापना भएको यस स्कुल/कलेज २५औं वर्षगाँठ अर्थात रजत जयन्ती (Silver Jubilee Celebration Day 2082) भब्य रुपमा मनाएको हो।
शनिवार एक भब्य कार्यक्रमका विच काठमाडौँ बर्नहार्ट व्यवस्थापन समितिका अध्यक्ष भुपेस छत्कुलिको सभापतित्व तथा अन्य तीन जना संस्थापक डाइरेक्टरहरुको सहभागीतामा रजत जयन्ती समारोह सम्पन्न भएको थियो। रजत जयन्ती कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका प्रिन्सिपल, बर्नहार्टका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

२५औं वर्ष पूरा गरेको अवसरमा बोल्दै शैक्षिक निर्देशक तथा प्रिन्सिपल पुरुषोत्तम विष्टले स्थापनादेखि आजसम्म आउदा संस्थाले अनेक आरोह अवरोह पार गरेको बताउनुभयो। उहाँले बर्नहार्ट स्थापना भएदेखी शैक्षिक क्रियाकलाप, तथा नतिजामा कहिले पछाडी नपरेको बताउनुभयो ।

उक्त कार्यक्रममा कार्यकारी निर्देशक नवराज अधिकारिले गुणस्तरीय शिक्षातर्फको पाइला चालेको बर्नहार्टको सफलतालाई कुनैपनि अवरोधले अहिलेसम्म रोक्न सकेको छैन । उहँले कसरी सफल भयो भन्नेकुरा विद्यालय स्थापना गर्दा देखी टिमको बलियो प्रतिबद्धता, मिहेनत र शिक्षक कर्मचारिहरुको साथ सहयोगले बर्नहार्टलाई एउटा अब्बल शैक्षिक संथाको रुपमा बिकास गरेको बताउनुभयो ।

तयस्तै कार्यक्रममा शैक्षिक सल्लाहकार प्रा.डा. नारायण प्रसाद चापागाईंले स्थापनाकाल देखिका घटना क्रमहरुको छोटो विबेचना गर्दै आगामी दिनमा विद्यार्थीलाई बजारको मागअनुसारको शिक्षा दिँदै अघि बढ्ने बताउनुभयो। उहँले बर्नहार्टका विद्यार्थीहरु संसारभर विभिन्न काममा रहेको देख्दा खुशी लाग्ने बताउनुभयो।

कलेजले २५ वर्ष पूरा गर्दै गर्दा स्थापना देखिनै काम गर्दै आएका ४ जना शिक्षक तथा प्रशासकलाई नगद रु. २५ हजार दिएर पुरस्कृत गरेको थियो। साथै १० वर्ष पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो।

समापन समारोहमा बोल्दै अध्यक्ष भुपेस छत्कुलिले काठमाडौ बर्नहार्ट जुन सपना सहित स्थापना गरिएको थियो त्यो पूरा भएको बताउनुभयो । उहँले बर्नहार्टको सफलतामा साथ दिने सबै शिक्षक, अभिभावक तथा विद्यार्थीहरुलाई विशेष सम्झनासहित सम्मान ब्यक्त गर्नुभयो।

नेपालको शैक्षिक क्षेत्रमा काठमाडौ बर्नहार्ट कलेजले आफ्नो छुट्टै र बिशिष्ट पहिचान बनाइसकेको छ। २०५७ साल असार १४ गते स्थापना भएको काठमाडौ बर्नहार्ट फाउन्डेसन द्वारा संचालित बर्नहार्ट स्कुल /कलेज अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ ।

काठमाडौं बर्नहार्ट महाविद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट) पाउने पहिलो निजी विद्यालय समेत हो । गुणस्तरीय शिक्षाको पर्याय बनेको बर्नहार्टले नर्सरी देखि मास्टर्स लेभलसम्मको अध्यापनमा आफुलाई अब्बल सावित गर्दै आएको छ ।

विद्यार्थीलाई बजार मागअनुसारको शिक्षा दिनका लागि विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले तोकेको पाठ्यक्रमका अलावा विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई व्यक्तिगत रूपमा परामर्श तथा रेखदेख गर्दै विद्यालयले हालसम्म उत्कृष्ट नतीजा हासिल गर्दै आएको छ ।
यसै स्कुल/कलेजमा अध्यनरत विद्यार्थीहरुले २०५८, २०६१, २०६२, २०६८ र २०७० उच्च मा.वि.शिक्षा बोर्ड टप गरेका थिए । २०७६ सालबाट सुरु भएको लेटर ग्रेडिङमा पनि सर्वोत्कृष्ट जिपिए ३.९३ ल्याउन सफल अनिष खनाल यसै विद्यालयका विद्यार्थी थिए । त्यस्तै २०७८ र २०७९ राष्ट्रिय परीक्षा वोर्ड टप गरेका थिए ।

काठमाडौ बर्नहार्टले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ सालमा निजीतर्फ उत्कृष्ट महाविद्यालय घोषित हुँदैं सम्मानित भएको थियो । २५ औं बर्षमा आइपुग्दा यस काठमाडौँ बर्नहार्ट स्कुल/कलेज संयौंको संख्यामा डाक्टर, नर्स, इञ्जिनियर र राष्ट्रसेवक कर्मचारीहरु उत्पादन गरिसकेको छ ।
बर्नहार्टले विश्वविद्यालयतहमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विविएस, विएएसडब्लू, बिबिएम, बिसिए, बिएस्सी सिएसआईटी र स्नाकोत्तर तहमापनि अध्ययन, अध्यापन गराउँदैं आएको छ । यसै संस्थामा अध्यनरत विद्यार्थी सिर्जना बज्राचार्यले २०६५ मा त्रिभुवन विश्वविद्यालय टप गरेकी थिईन् ।

रजत जयन्तिको अवसरमा आयोजना गरिएको कार्यक्रममा काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजका प्रसाशन प्रमुख रामचन्द्र थापा, भाइस प्रिन्सिपल शिवराम रिजाल, बिहानी सिफ्ट कोर्डिनेटर मनोज बिष्ट, दिवा सिफ्ट कोर्डिनेटर रामकृष्ण पराजुली लगाएत स्कुल कोर्डिनेटर, फ्याकल्टी मेम्बर, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। साथै पुर्व प्रिन्सिपल अमृत बाबू भट्टको उपस्थिती रहेको थियो।