सोमवार, आषाढ १६ २०८२
काठमाडौं । असार १५ गते पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अगाडि नबढेपछि नेपाल शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ । नेपाल शिक्षक महासंघले एक विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए पुन: आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
ने.शि. महासङ्घसँग भएका विगतका सहमतीलाई सम्बोधन हुने गरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरुप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छैन। यसबाट आम नेपाली शिक्षक-कर्मचारी सशङ्कित र आक्रोशित भएका छन् । विज्ञप्तिमा लेखिएको छ।
राजधानी केन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिबद्धता भएको थियो।

