शनिवार, श्रावण ४ २०८२
साउन, ३ गते काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चन्द्रागिरी नगरपालिकाले एसईई २०८१ मा उत्कृष्ट जिपिए सहित उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सम्मानित गरेको छ।
शनिवार एक कार्यक्रमकाबीच पालिका भरिका प्याब्सन सदस्य विद्यालयहरूका ४.० जिपिए ल्याउने र उच्चतम जिपिए सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र ती विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको हो।

प्याब्सन चन्द्रागिरी नगरपालिका अध्यक्ष सरोज महर्जनको सभापतित्व तथा मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा प्याब्सन काठमाडाैंका अध्यक्ष नवराज भट्ट तथा नगरको सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले उनिहरुलाई सम्मान गरेका थिए।
सम्मानित हुनेहरूमा प्याब्सनसँग आबद्ध माध्यमिक शिक्षा परीक्षा (एसइई) – २०८१ मा सहभागी भएका ३२ वटा विद्यालय, ती विद्यालयमा सर्वोत्कृष्ठ नतिजा प्राप्त गर्ने ४६ जना विद्यार्थी एवं अभिभावक र ती विद्यालयमा कार्यरत ३१ शिक्षक तथा कर्मचारीहरू रहेका छन् । चन्द्रागिरि नगरपालिका क्षेत्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) – २०८१ मा सहभागी भएका परीक्षार्थी मध्ये ७ जनाले ४.० जीपीए प्राप्त गरेका थिए ।

अवार्ड वितरण कार्यक्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नगरको सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, नगरका शिक्षा शाखा निर्देशक सुजनराज खनाल, प्याब्सन काठमाडाैंका अध्यक्ष नवराज भट्ट, प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष सरोज महर्जन, सल्लाहकारहरू दयाराम थापा, दुर्गालाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

उक्त सम्मान कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले चन्द्रागिरी प्याब्सनको उत्कृष्ट भुमिका सहित उत्कृष्ट नतिजा ल्याई सम्मान गर्दा खुसी लागेको बताउनुभयो। मेयरको हैसियतले आफु चन्द्रागिरी नगरपालिकालाई शैक्षिक हब बनाउन प्रयत्नरत रहेको बताउनुभयो। कक्षा ११ र १२ मा समेत चन्द्रागिरिमा सर्वसुलब ढंगले सबै विषय पढाइ हुनेगरेको छ। मेयर गिरिले भन्नुभयो, अब हरेक विद्यालयले कक्षा ११ र १२ सम्म पढाउनुपर्छ, ताकी हाम्रो विद्यार्थी बाहिर नजाओस् ।
मेयर गिरिले सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई औपचारिक रुपमा नगरपालिकाले समेत सम्मान गर्ने भन्दै आफू संस्थागत र सार्वजनिक भनेर विभेद नगर्ने बताउनुभयो। मेयर गिरिले कक्षा ११ र १२ मा छात्रवृत्ति पढाउने निजि विद्यालयलाई समेत नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

मेयर गिरिले विद्यालयहरुले विद्यार्थीलाई विद्यालय स्तरबाटै सैद्धान्तिक ज्ञानका साथसाथै सीप र संस्कार समेत सिकाउनुपर्ने बताउनुभयो। हातमा प्रमाणपत्र संगै परिवार, समाजलाई कसरी लैजान्छौ र हाम्रा बा आमाले फुलाएर राखेका मौलिकतालाई कसरी जोगाउने भन्ने बिषय विद्यार्थीहरुलाई सिकाउनुपर्छ, मेयर गिरिले भन्नुभयो । साथै उहाँले प्रविधिले निम्याएका जटिलतलाई हल गर्दै प्रतिस्पर्धा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा प्याब्सन काठमाडौँ जिल्लाका अध्यक्ष नवराज भट्टले उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी तथा सो नतिजा ल्याउन सघाउ पुर्याउने विद्यालय, शिक्षक तथा कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिनुभयो। भट्टले विद्यार्थीले सजिलै उत्कृष्ट नतिजा ल्याउन नसक्ने भन्दै त्यसमा विद्यालय र शिक्षकको ठूलो लगानी र मेहनत हुने बताउनुभयो।

अध्यक्ष भट्टले देशमा निजि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कारणले अभिभावकको पहिलो रोजाईमा निजि विद्यालयहरु पर्ने बताउनुभयो।आफ्नै ब्यक्तिगत लगानीमा संचालित विद्यालयहरु हुन् । राज्यले लगानी नगरेर भए पनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं। निजि रुपमा संचालित विद्यालयहरुको शिक्षा गुणस्तरीय छ , भट्ट्ले भन्नुभयो।

अध्यक्ष भट्टले निजि विद्यालयका विद्यार्थी बाहिर जान्छन भन्ने हल्ला छ त्यसलाई चिर्न देशमै उद्धम गरेर नेपालमै सेवा गर्नुपर्ने बताउनुभयो। हामीलाई असल नेतृत्व गर्ने नेता चाहिएको छ। टपर्स विद्यार्थी टेक्निकल लाइनमा जाने तर नराम्रो विद्यार्थीहरु राजनितीमा हाबी हुने देखिएको छ। हामिले नेपालमै सेवा गर्नुपर्छ। नेपालमा सम्भावना छ। भट्टको भनाई छ। उहाँले कक्षा ११ र १२ भनेको जीवनको महत्वपूर्ण समय हो भन्दै आफ्नो रुचि भएको बिषय पढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो।
कार्यक्रममा सल्लाहकार दयाराम थापाले उत्कृष्ट जिपिए सहित एसईई उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई बधाई दिनुभयो। उहाँले चन्द्रागिरी नगरपालिकालाई शैक्षिक हब बनाउन सकिने धारणा ब्यक्त गर्नुभयो। हाम्रो विद्यार्थी हाम्रै ठाउमा पढ्नुपर्छ । हामीसंग भएका कुरालाई प्रमोट गरौ। शैक्षिक हब बनाउने हो भने हाम्रो तप्काबाट हामी तयार छौ। तर पालिकाले पनि त्यो अनुरुप चाहनुपर्यो, उहाँले भन्नुभयो 'चन्द्रागिरिलाई एजुकेसन हब बनाउन चन्द्रागिरिकै शिक्षक, बिद्यालय संचालकहरुले हो। हाम्रो ठाउँ राम्रो बनाउन हाम्रो योगदान चाहिन्छ।'

कार्यक्रमका सभापति सरोज महर्जनले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न चन्द्रागिरी प्याब्सनले एसईई एक्सलेन्स अवार्ड कार्यक्रम गरेको बताउनुभयो । उहाँले सम्मानित हुने सबै विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई बधाई दिनुभयो।
प्याब्सनले विगत २५ वर्षदेखी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयहरूलाई सम्मान समारोह आयोजना गरि सम्मान गर्दै आएको छ।
उक्त कार्यक्रममा प्याब्सन चन्द्रागिरी नगरपालिकाका उपाध्यक्ष बालकृष्ण भेटवालले स्वागत मन्तव्य राख्नुभयो। साथै नगर सचिव प्रमोद जिसि र सहसचिव मिलन गुरुङले कार्यक्रम संचालन गर्नुभयो ।
