आइतवार, श्रावण ५ २०८२
साउन, ४ गते/ काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पूरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छन्।
सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अब पनि शिक्षकहरूले थप मागमा अडान लिन नहुने बताएकी हुन्।
सांसद श्रेष्ठले शिक्षकहरूलाई विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न सुझाव दिइन् ।
उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाई भएको भन्दै यसमा राजनीतिक दलहरू समेत गम्भीर हुनुपर्नेमा जोड दिइन्। उनले शिक्षकहरूको अनुहार देखाएर अरु समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै शिक्षकहरुलाई सचेत हुन आग्रह गरिन्।