शुक्रवार, श्रावण १० २०८२
साउन, ९ गते/ काठमाडौँ। ज्ञानोदय माद्यामिक विद्यालयले एसईई २०८१ मा सम्मिलित भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई सम्मान तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार एक कार्यक्रमका बीच नेपालकै प्रतिष्ठित यस विद्यालयले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो।

नयाँ शैक्षिक सत्र २०८२ का विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबाबु कोइरालाको सभापतित्व तथा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै बिशेष अतिथी काठमाडौँ महानगर वडा १३ का अध्यक्ष ध्रुव नारायण मानन्धर काठमाडौँ जिल्ला समन्वय इकाई प्रमुख समन्त मणी आचार्य, काठमाडौँ महानगर शिक्षा बिभाग शिक्षा अधिकृत नि. प्रमुख केशव ज्ञावाली, शिक्षा अधिकृत लक्ष्मी पौडेल, पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, सिटिइभिटिका पुर्व सदस्य सचिव रामहरि लामिछाने, विद्यालय ब्यबस्थापन समितिका सदस्य, प्राचार्य बिष्णु रिमाल लगाएत शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनिता डंगोलले नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयले ल्याएको नतिजाले निकै खुशी महसुस भएको बताउनुभयो। उहाँले सार्वजनिक शिक्षामा काठमाडौ महामगरले राम्रो लगानी गरेको भन्दै अझै सुधारको आवश्यकता रहेको बताउनुभयो। साथै एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिदै आगामी दिनहरु अझै बढी मेहनत गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा वडा अध्यक्ष ध्रुब नारायण मानन्धरले विद्यालयको भवनको समस्या रहेको भन्दै त्यसको लागि पहल गर्ने बताउनुभयो। साथै उहाँले वडाको तर्फबाट २ करोड रुपैयाँ छुट्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा काठमाडौँ जिल्ला समन्वय इकाई प्रमुख समन्तमणी आचार्यले विद्यालयले सुधार गर्नुपर्ने कुरा धेरै रहेको भन्दै त्यसको लागि ब्यबस्थापन समिती र प्राचार्यले अझै मेहनत गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई अनुशासनमा राख्न नैतिक शिक्षाको जरुरी रहेको बताउनुभयो।

उक्त कार्यक्रममा बोल्दै विद्यालय प्राचार्य बिष्णु रिमालले राज्यले सार्वजनिक शिक्षामा लगानी नगरेकोले गुणस्तर कायम गर्न र नतिजामा सुधार ल्याउन नसकिएको बताउनुभयो। उहाँले नेपालको उत्कृष्ट सामुदायिक विद्यालय जहाँ चार हजार पँच सय विद्यार्थी रहेका छन् भवनहरु निर्माणाधीन छ्न। प्रत्येक कक्षाकोठामा स्मार्टबोर्ड पुर्याउन समेको छैन। भवन अभावको कारण अत्यन्तै समस्या भएको प्राचार्य रिमालको भनाई छ।

उक्त कार्यक्रममा सिटिइभिटिका पुर्व सदस्य सचिव रामहरि लामिछाने, विद्यालय ब्यबस्थापन समितिका सदस्य लगाएतले मन्तव्य दिनुभएको थियो।
साथै कार्यक्रममा सह-प्रधानाध्यापक बिष्णु प्रसाद ज्ञावाली र साइन्स र कम्प्युटर इचार्ज प्रेम खड्काले उत्प्रेरक मन्तव्य मार्फत नयाँ विद्यार्थीलाई अभिमुखीकरण गरेको थियो।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य, गायन तथा प्रहसन कार्यक्रम आयोजना गरेका थिए।
यस वर्ष ज्ञानोदय माद्यामिक विद्यालय बाट जम्मा ४२५ विद्यार्थी मध्ये ४ जि.पि.ए ६ जना, ३.६ भन्दा माथी ४ भन्दा तल २३१ जना, ३.२ भन्दा माथी ३६ भन्दा कम १२५ जना र २.८ भन्दा माथी ३.२ भन्दा कम ३२ जनाले प्राप्त गरेका थिए।
कार्यक्रममा चार जिपिए ल्याउने विद्यार्थीलाई रु पाँछ हजार नगद सहित सम्मान गरिएको थियो।





