शनिवार, श्रावण ११ २०८२
साउन, १० गते/ काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षा विधेयकमा सरकारले जालझेल गरिरहेको बताउनुभएको छ। आज काठमाडौँ सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन पश्चात् शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
संसदमा विधेयकमाथि गरिएको छेडछाडप्रति आपत्ति जनाउँदै प्रचण्डले भन्नुभयो, ‘हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा षड्यन्त्र गरिएको छ।’ तर शिक्षकहरूमाथि बेइमानी हुन नदिने प्रचण्डले बताउनुभयो।
‘शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए। माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुन पर्दैनथ्यो, प्रचण्डले भन्नुभयो।
उहाँले पछिल्लो पटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे। ‘सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुपर्यो, आन्दोलनमा हुनु भयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,’ उहाँको भनाइ थियो।