बुधवार, श्रावण २२ २०८२
साउन, २२ गते/काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । समितिका अनुसार बिहीबार (भोलि) १० बजे बस्नेगरी बैठक बोलाइएको हो।
गत २२ असारमै विधेयक पास गर्ने तयारी रहेपनी नेपाल शिक्षक महासंघको मागका विषयमा फरक फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो । त्यसपछि बैठक बस्न सकेको थिएन ।
विधेयकमा शिक्षकको आवधिक बढुवा, अस्थायी प्रकृतिको शिक्षकको व्यवस्थापन, ईसीडी लगायतको विषयमा सहमति जुट्न सकेको छैन । शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि समितिको बैठक बोलाइएको बताइएको छ।
शिक्षक महासंघसँग भएको सहमतिअनुसार १५ असारभित्र विधेयक पास गर्नुपर्ने हो तर हालसम्म पनि पारित हुन सकेको छैन । शिक्षा ऐनको माग राखेर महासंघले गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो ।