बिहिवार, श्रावण २३ २०८२
साउन, २२ गते/ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताउनुभएको छ । बिहीबार काठमाडौँ अखिल (क्रान्तिकारी)ले गरेको शैक्षिक संवादमा बोल्दै प्रचण्डले आफ्नो पार्टीले यस्तो निर्णय गर्ने तयारी भइरहेको बताउनुभएको हो ।
प्रचण्डले पार्टीका सबै स्थानीय सरकार प्रमुखका छोराछोरी सार्वजनिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय कार्यान्वयन भैसकेको र अब चाँडै केन्द्रीय नेताका छोराछोरीका हकमा पनि सार्वजनिक स्कुल क्याम्पस र विदेश जान नपाउने गरी निर्णय गर्ने तयारी भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म पार्टीको सबैभन्दा ठुलो अध्यक्ष । मेरा छोराछोरी विदेश पढ्न गएका छैनन् । अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौँ’।
उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ हुनुमा नेपाली कांग्रेस र नेकपा एमालेको भूमिका जिम्मेवार रहेको आरोप लगाएका छन्।
प्रचण्डले भन्नुभयो, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएको थियो। शिक्षकहरूसँग भएका सम्झौताहरू समेटेर विधेयक बनाउने सहमति भएको हो। तर अहिलेको सरकारको नेतृत्व गरिरहेको एमाले र अध्यक्ष केपी ओली त्यसको विपक्षमा गएकाले विधेयक अघि बढ्न सकेको छैन।’
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षकका मागप्रति अवज्ञा देखाएको आरोप प्रचण्डको छ। ‘हामी जनताको घरदैलोमा अभियान लिएर जाँदै थियौँ, शिक्षक र विद्यार्थीको पक्षमा बोल्दै थियौँ। तर उहाँ (ओली) भने शिक्षकहरूलाई गाली गर्दै ‘किन दिनुपर्यो यिनीहरूलाई सुविधा?’ भनेर विरोध गरिरहनुभएको थियो,’ प्रचण्डले भन्नुभयो।
प्रचण्डले प्रधानमन्त्री प्रधानमन्त्री ओलीमाथि सार्वजनिक शिक्षा प्रणालीको विरोध गर्दै निजीकरणतर्फ उन्मुख भएको आरोप पनि लगाउनुभयो।