साउन, २९ गते/ काठमाडौँ । प्याब्सन र नेसनल प्याब्सनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि सम्बन्धी प्रस्तावित शिक्षा विधेयकको विरोधमा देशव्यापी संयुक्त आन्दोलन कार्यक्रम घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष कृष्ण अधिकारी र नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेद्वारा संयुक्त बिज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
प्रस्तुत विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिवाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य भएको हुँदा मिति २०८२ श्रावण २७ गते प्याब्सन केन्द्रीय कार्यालयमा बसेको प्याव्सन, एन प्याब्सन लगायत सरोकारवाला संस्थाहरूको संयुक्त बैठकको निर्णय अनुसार आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताइएको छ।
केन्द्रीय प्याब्सन तथा एन-प्याब्सन मातहत प्रदेश जिल्ला तथा पालिका कार्यसमितिहरूले देशैभरी तोकिएका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भए अनुसार प्याव्सन र एन प्याब्सनका सदस्यहरू तथा मिडियाको व्यापक उपस्थितिमा अगाडि पठाइएको ज्ञापन पत्र तत् प्रदेश/जिल्ला स्थानीय पालिका सरकारलाई बुझाउन अनुरोध गरेका छन्।
यस्तो छन् आन्दोलन कार्यक्रमहरू :
• श्रावण २९ गते विहिवार विहान ११ बजे पत्रकारहरूको उपस्थितिमा अध्यक्ष/मेयर र पालिका शिक्षा शाखा प्रमुखलाई प्याब्सन तथा एन प्याब्सन सदस्यहरूको व्यापक उपस्थितिमा ज्ञापन पत्र बुझाउने ।
• श्रावण ३० गते शुक्रबार ११ बजे प्याव्सन तथा एन प्याब्सन सदस्यहरू एवम् पत्रकारहरूको व्यापक उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने ।
• भाद्र १ गते, आइतबार ११ बजे प्याब्सन तथा एन प्याव्सन सदस्यहरू तथा पत्रकारहरूको व्यापक उपस्थितिमा प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने ।
• भाद्र २ गते आआफ्नो निर्वाचन क्षेत्रका सङघीय प्रतिनिधि सभा/राष्ट्रिय सभा) सांसदहरूलाई प्याव्सन तथा एन प्याब्सन सदस्यहरू एवम् पत्रकारहरुको व्यापक उपस्थितिमा ज्ञापन पत्र बुझाउने ।
• भाद्र २ गते सोमवार ६:३० बजे बेलुका सुझाव सङ्कलनका लागि राष्ट्रिय परिषदको जुम बैठक बस्ने ।
• भाद्र ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
• भाद्र ४ गते प्रत्येका जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
• भाद्र ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
• ६ र ७ केन्द्र प्रदेश स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने।
नोट: उक्त समय सीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट निकास ननिस्किए विद्यालय बन्दसम्मको कार्यक्रम हुने भएको हुँदा यसलाई मध्यनजर गर्दै सबै तहका समितिहरूले आवश्यक तयारी गर्नुहोला ।