सोमवार, भाद्र २ २०८२
काठमाडौं/२ भदौ – प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अज बसेको बैठकले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेस गरेको छ। समितिका सचिव दशरथ धमलाले विधेयकको प्रतिवेदन पेस गरेको हो। समितिको अर्को बैठक भदौ ५ गते बस्नेगरी सभापति अम्बर बहादुर थापाले आजको बैठक सकिएको जनाएका छन् । साथै समितिका सदस्यहरूलाई प्रतिवेदन अध्ययनका लागि दुई दिनको समय उपलब्ध गराइएको छ ।
आजको बैठका निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो । बैठकमा छात्रवृत्तिको विषयलाई नियमावलीमा व्यवस्था गरी जान सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रस्ताव गरेका छन् ।
विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् । विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ ।
मन्त्री पन्तले विधेयकलाई अब नलम्ब्याउन आग्रह गर्दै छिटो पारित गर्न समेत आग्रह गरेका छन् । नयाँ नयाँ विषय ल्याउने र थप्दै जाने हो भने विधेयक कहिल्यै पास नहुने बताउँदै विद्यालय शिक्षा विधेयक छिटो पास गर्न मन्त्री पन्तले आग्रह गरे ।