बुधवार, भाद्र ४ २०८२
काठमाडौं, ४ भदौ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपालले हालसम्म उपलब्ध हुँदै आएको आयकर छुट, भन्सार छुट, सवारी साधन र उपकरण खरिदमा छुट, घर जग्गा दर्ता, पास शुल्क छुटलगायतका सुविधाहरू वर्तमान सरकारले हटाउने प्रयास गरेको भन्दै आपत्ति जनाएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरकारको आफ्नो घोषित नीतिअनुसार अन्य निजी विद्यालयहरू समेत क्रमशः गैर–नाफामूलक र सेवामा समर्पित हुने सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण गर्दै व्यवस्था गर्न लागेको सन्दर्भमा विद्यालयहरू आफ्नै भवन र संरचनासहित स्थापित भई, सृजित सम्पत्ति विद्यालयहरुको विधानअनुसार सामुदायिक विद्यालयहरु जस्तै स्वतः राज्यकै सम्पत्ति हुने हुनाले यी सुविधा दिनुपर्ने बताएको हो ।
सरकारले विभिन्न बहानामा संविधानले प्रत्याभूत गरको शिक्षासम्बन्धी हक अधिकारहरुलाई सूनिश्चित गर्न र कार्यान्वयनमा ल्याउन संघीय शिक्षा विधेयकलाई बन्धक बनाउने कुरा स्वीकार्य नरहेको पनि सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपालले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जीवाकर शर्मा पौडेलले यो वा त्यो बहानामा संघीय शिक्षा ऐन पास गर्नमा ढिलाइ गर्न नहुने बताए । ‘निकै लामो कसरतपछि अहिले टेवल भइरहेको संघीय शिक्षा विधेयक यो वा त्यो बहानामा बन्धक हुन हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो,’– उनले भने । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपालका वरिष्ठ उपाध्यक्ष रमेश महर्जनले पछिल्लो समय आफूहरुलाई सरकारले निजीसरहकै व्यवहार गरिरहेको बताए ।
त्यस्तै सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपालका वरिष्ठ उपाध्यक्ष मेघराज दुलालले सार्वजनिक शैक्षिक गुठी राष्ट्रको शिक्षामा टेवा पुर्याउन सक्ने विकल्प हुनसक्छ भन्ने आफूहरुको निष्कर्ष रहेको बताए । राज्यले निजी विद्यालयलाई सार्वजनिक शैक्षिक गुठीमा लानुपर्छ, गैरनाफामूलक बनाउनुपर्छ भनिरहेको अवस्थामा सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित विद्यालयको अवस्था के छ, कुन अवस्थामा चलिरहेको छ भन्ने कुरा ख्याल नगरेको उनले बताए ।
यी सार्वजनिक शैक्षिक विद्यालयहरुका जायज मागका साथै सिंगो राष्ट्र विकासका लागि आवश्यक सम्पूर्ण गुणस्तरिय जनशक्ति तयार पार्ने गहन अभिभारा बोकि शैक्षिक क्षेत्रमा समर्पित हुनुहुने शिक्षण संस्थाहरुमा कार्यरत सम्पूर्ण शिक्षक/शिक्षिका तथा कर्मचारीहरुको भविष्य सुरक्षित बनाउँन आवश्यक सेवा र सुविधाका लागि उचित नीतिगत व्यवस्था गर्नुपर्ने बताइएको छ।

