बिहिवार, भाद्र ५ २०८२
काठमाडौं। विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालकहरू तथा प्रिन्सिपलहरूले आज माइतीघरबाट र्याली निकाल्ने भएका छन् ।
बिहान ११ बजे देखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरूले ब्यानर सहित नयाँ बानेश्वर चोकसम्म र्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने जानकारी दिइएको छ।
प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरका छन् । उनिहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा नीजि विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्राबधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।
उनिहरुले हाल दिइदै आएको १०% प्रतिशत छात्रवृत्तिलाई कायम राख्नुपर्ने माग गरेका छन्।
आन्दोलनका कार्यक्रमहरु :
१. २०८२ भाद्र ५ गते बिहान ११ वजे देखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानर सहित नयाँ बानेश्वर चोकसम्म र्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने ।
२. (क) २०८२ भाद्र ६ गते, बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने । (ख) काठमाडौँ उपत्यकामा २७ किमी चक्रपथ वरिपरि स्कुल बसहरूको कालो झण्डा/ब्यानर सहित र्याली गर्ने ।
३. २०८२ भाद्र ६ गते दिनको ठिक १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ / धर्ना गर्ने ।
४. २०८२ भाद्र ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने ।
५. हामी राज्यसँग टकराब होइन, संवाद र सहकार्यको बाटो खोजिरहेका छौँ । तर, यदि हाम्रो व्यावसायिक अस्तित्व र शैक्षिक योगदानमाथि कुठाराघात गरिने प्रयास हुन्छ भने, हामी बाध्य भएर सङ्घर्षका सबै विकल्प रोज्न बाध्य हुनेछौँ ।