शुक्रवार, भाद्र ६ २०८२
काठमाडौं । संसदीय समितिबाट बहुमतका आधारमा पारित भएको शिक्षा विधेयक प्रतिनिधि सभामा पेस भएका छ। शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले प्रतिनिधि सभाको शुक्रबाको बैठकमा उक्त विधेयक पेस गरेका हुन्।
१५ वटा परिच्छेद, १६३ वटा दफामा विभक्त उक्त विधेयक १५२ समूहमा १६१ जना सांसदहरूबाट एक हजार ७५८ बुँदामा संशोधन प्रस्ताव दर्ता भएको सभापति थापाले संसद् बैठकमा बताए।
विद्यालय शिक्षा विधेयक पेस गर्दै सभापति अम्मरबहादुर थापाले विधेयकमा नविनता दिने कोशिस गरेको दाबी गर्नुभयो । सभापति थापाका अनुसार शिक्षा विधेयकका विषयमा छलफल गर्न मूल समिति र उपसमिति गरी १ सय १७ वटा बैठक बसेका थिए । तथापि समितिबाट विधेयक सर्वसहमितिबाट पारित हुन सकेको थिएन ।
विधेयकमा नेपाल शिक्षक महासंघ, निजी विद्यालय सञ्चालकलगायत सरोकारवालाको माग समावेश गरिएको पनि थापाले बताए।
सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन् ।
अब उक्त विधेयकमाथि प्रतिनिधि सभामा छलफल हुने छ । प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकहरु राष्ट्रियसभामा जाने छन् । दुबै सदनबाट विधेयक पास भएपछि सभामुख देवराज घिमिलेले प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनुहुने छ । र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्ने छ ।