आइतवार, भाद्र ८ २०८२
भदौ,८ गते/ काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयकमा रहेको निजी विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्थालाई परिमार्जन गरिनुपर्ने बताएका छन्।
प्रज्ञा भवनमा शनिबार बखान पुस्तक विमोचन कार्यक्रममा बोल्दै सर्माले निजी क्षेत्र निरूत्साहित हुने किसिमले आएको ढिलोचाँडो निजी विद्यालयलाई गैरनाफामुलक बनाउने व्यवस्था परिमार्जन गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार यस प्रावधानले निजी शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने खतरा रहेको छ।
‘निजी क्षेत्रका विद्यालयहरूलाई क्रमश गैरनाफामुलक बनाउँदै जाने पारित प्रस्ताव मुलुकले अंगिकार गरेको `सामाजिक न्याय सहितको खुला बजार अर्थव्यवस्था´ को नीति विपरीत छ।, शर्माले भने, ‘छात्रवृत्तिको निश्चित आकार बढाउने, निश्चित करबाट राज्य लाभान्वित हुने विषय एउटा हो, तर ढिलोचाँडो गैरनाफामुलक बनाउने भन्नु निजी क्षेत्रलाई सम्पूर्ण रूपले निरुत्साहित गर्नु हो , संसदीय प्रक्रियाबाट यसलाई हटाएर परिमार्जन गर्नुपर्छ l’
उनले संसदीय समितिबाट पारित शिक्षा विधेयकलाई थप परिमार्जन संसदले गर्न मिल्ने बताए। ‘कयौं महत्त्वपूर्ण विषय सम्बोधन गर्दै विधालय शिक्षा विधेयकलाई समितिमा टुंग्याउने समितिका साथीहरूलाई धन्यवाद दिँदै संसदले केही अत्यावश्यक परिमार्जन गर्न संयमतापूर्वक ढंगले कार्य गर्नुपर्ने उनको भनाइ छ।
शर्माले निजी विद्यालयको सकारात्मक योगदान र विद्यार्थीहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने क्षमतामा जोड दिनुका साथै, संसदले विधेयकलाई परिमार्जन गर्दै देशको शिक्षा नीति र निजी क्षेत्रबीच सन्तुलन कायम गर्नुपर्ने कुरा बताए।
निजि विद्यालय संचालकहरुको संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई "गैर नाफामूलक" बनाउदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने भन्दै केही दिनदेखि आन्दोलन गरिराखेको छ।