बुधवार, भाद्र ११ २०८२
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा समितीमा पारित गरि संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकबारे असहमति जनाउँदै नेपाल शिक्षक महासङ्घले आज नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
पहिलो चरणको आन्दोलन अन्तर्गत भाद्र ११ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुबुझाएको हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्नापछि प्रमुख सचेतक श्याम घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।





त्यसैगरी भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल मा र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको छ ।
मगासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत शिक्षक नेताहरू आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्यालय, शिक्षामन्त्री र दलका सचेतकहरूलाई भेटेर विधेयकमा छुटेका विषय सम्बोधनका लागि ध्यानाकर्षण गराइसकेका छन् ।
महासंघले २०७५, २०७८ र २०८० सालमा भएका आन्दोलनपछि सरकारसँग क्रमशः ३०, ५१ र ६ बुँदे सहमति भएको तर ती सहमतिलाई समावेश गरी ऐन जारी नगरिएकोमा आक्रोश व्यक्त गरेको छ । विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको महासङ्घकाे आरोप छ ।
गएको वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर भदौ ६ गते प्रतिनिधिसभामा पेश भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएकोले महासङ्घ पुनः आन्दोलनमा जानुपरेको महासंघको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो।
महासङ्घले अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्तिको व्यवस्था गर्न, आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्व पीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी पालिकामा हस्तान्तरण गर्न नहुने माग गरेको छ ।
महासंघले पहिलो चरणमा माग पूरा नभए भदौ २१ गतेदेखि दोस्रो चरणको आन्दोलन शुरू गर्ने र माग पूरा नभएसम्म सडकबाट नफर्कने चेतावनी दिनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्नापछि प्रमुख सचेतक श्याम घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।