शुक्रवार, भाद्र १३ २०८२
भदौ, १३ गते/ महोत्तरी । मनरासिसवा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेयले विद्यालयमा हाजिरी गरी आन्दोलन गर्ने शिक्षकको तलब काट्ने चेतावनी दिएका छन् । नगर प्रमुख पाण्डेयले दिनहुँ विद्यालयका शिक्षक आन्दोलन गर्न थालेपछि यस्तो चेतावनी दिएका हुन्।
शुक्रबार नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षकहरु विद्यालयमा हाजिरी गरी नगरपालिकाको कार्यालयमा धर्ना बसेपछि नगर प्रमुख पाण्डेयले विद्यालयमा हाजिरी गरेर आन्दोलनमा सहभागी हुने शिक्षकको तलब कट्टा गर्ने चेतावनी दिए।
'विद्यालयमा आएर हाजिरी गर्ने अनि आन्दोलनमा जाँदा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको छ,' नगर प्रमुख पाण्डेयले भने,‘हाजिरी गरेको दिन शिक्षकले विद्यालयमा पढाउनु पर्छ । हाजिरी गरेर आन्दोलनमा गइरहने शिक्षकको तलब कट्टा गर्ने तयारी गरेका छौं । दिनहुँ आन्दोलनमा जाने शिक्षकले बिदा लिएर जान सक्छ ।’
अधिकारका लागि आन्दोलन गर्ने शिक्षकले विद्यार्थीको पढने अधिकारबाट बञ्चित गरी भविष्यसंग खेलबाड गर्न नमिल्ने नगर प्रमुख पाण्डेले बताए ।