शनिवार, भाद्र १४ २०८२
भदौ, १४ गते/ ललितपुर । प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान)ले देशका विभिन्न जिल्लाहरुमा पान एजुकेशन कन्क्लेभ सम्पन्न गरेको छ । शनिवार पानले उपत्यका स्तरीय एजुकेसन कन्क्लेभ ललितपुरको गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाँउस्थित वुद्ध माध्यमिक विद्यालयमा सम्पन्न गरेको हो।

काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरको कन्क्लेभ अध्यक्ष सुदाम प्रसाद गौतमको अध्यक्षता, शिक्षा तथा मानव स्रोतविकास केन्द्रका महानिर्देशक कृष्ण प्रसाद काप्रीको प्रमुख अतिथिमा तथा केन्द्रिय महासचिव लक्ष्मण श्रेष्ठको सञ्चालनमा सम्पन्न भयो।
उपत्यकाका तीनै जिल्लाहरुका सामुदायिक विद्यालयहरुका शिक्षा क्षेत्रका सवालमा चुनौती, अवसर र उत्कृष्ट अभ्यास पहिचान तथा सरोकारवालाबीच सहकार्य प्रवर्द्धन तथा यसका लागि उपायहरु तथा आगामी दिनका लागि सिफारिस सहितका सवालमा विषयमा पानका बागमती प्रदेश पानका अध्यक्ष चन्द्रप्रसाद मैनालीले कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।

“समतामूलक र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको सशक्तिकरण” भन्ने थिममा देशै भरि विभिन्न जिल्लामा पान एडु कन्क्लेभ २०८२ सम्पन्न गर्यो । गुणस्तरीय शिक्षाका लागि साझेदारी भुमिका र जिम्मेवारी भन्ने विषयमा आयोजित प्यानल डिस्कसनमा काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका एकाइ प्रमुख कमला ज्ञवाली, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का, बुद्ध माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश बज्राचार्य र विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले सम्वन्धित विषयवस्तुमा समय सिमा र क्षेत्रभित्र रहि प्यानल डिस्कसनमा भाग लिनु भएको थियो भने प्यानल डिस्कसनको सञ्चालन पानका केन्द्रिय सहकोषाध्यक्ष हिमाल केसीले गर्नुभएको थियो ।

गोदावरी नगरपालिकाका नगर उपप्रमुख मुना अधिकारीले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो भने जाइका हेड अफिस टोकियोका डा. केइको मिजुनो, बेसिक एजुकेशन ग्रुप जाइका हेड अफिस टोकियोका मिस मोइ सुजुकीको उपस्थितिमा जाइका नेपाल अफिसका एजुकेशन एडभाइजर इपे सिमेजुले – "Collaborative effort of Godawari Municipality and JICA to improve children's learning; offline Math Learning App Trial " विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ विद्यालय निरीक्षक पदम बहादुर कुँवर, गोदावरी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष निरोज बज्राचार्य, पानका उपाध्यक्ष टिकाराम पाण्डे, उपमहासचिव मीन अछामी, सचिव मन्जु बस्नेत, सचिव बेग बहादुर थापा, पान काठमाडौका सचिव हरिकृष्ण श्रेष्ठ, पान भक्तपुरका अध्यक्ष महेन्द्र श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकरु, अभिभावक, विद्यार्थीहरु, गोरखापत्र दैनिक सँग सम्वन्धित वरिष्ठ शिक्षा पत्रकार प्रकृती अधिकारी, स्टुडेण्ट विद्यार्थीका टंकप्रसाद जोशी, शिक्षा लगायतका शिक्षा पत्रकारहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

७७ जिल्लाबाट आएका सल्लाह र सुझाव, ७ वटै प्रदेश र संघीय तहमा गरिने कार्यक्रमहरुबाट प्राप्त कार्यक्रम तथा योजनाहरु सम्वन्धित सरोकारवालाहरुलाई उपलव्ध गराउने र देशको शिक्षालाई गुणस्तरीय शिक्षामा रुपान्तरण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विषय पानले स्पष्ट पारेको छ ।
कार्यक्रममा जाइका, युक्ति इनोभेसन, सुप्रिम साइन्टिफिक इन्टरप्राइजेज लगायतका निकायहरुको सहयोगमा सम्पन्न कार्यक्रममा वुद्ध मा.वि. कक्षा ४ का सोनी परियार, आस्था रुम्बा, सविना श्रेष्ठ, प्रतिक्षा दर्जि र ऋतु भुजेलले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा उपस्थित महानुभावहरुलाई आयोजक विद्यालयका प्रधानाध्यापक तथा पान ललितपुरका अध्यक्ष प्रेमपति जोशीले धन्यवाद ज्ञापन गर्नुभयो ।

