आइतवार, भाद्र २२ २०८२
काठमाडौ, २२ भदौ– निनि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन नगरपालिकाको आयोजनामा "प्रविधिमैत्री भन्दा प्रकृतिमैत्री जीवन बेस" भन्ने विषयमा अन्तर-विद्यालयीय स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। शुक्रवार रानिवनस्थित बाटिका स्कुलको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा नागार्जुन नगरपालिका भरिका १८ विद्यालयको सहभागी रहेको थियो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्ना धारणा प्रस्तुत गर्दै प्रविधि र प्रकृतिबीचको सम्बन्धबारे तर्क प्रस्तुत गरेका थिए। एक पक्षले प्रविधिले मानव जीवनलाई सहज, आधुनिक र द्रुतगतिमा अगाडि बढाएको तर्क राखे भने अर्को पक्षले प्रकृतिसँग मैत्रीपूर्ण जीवनशैली नै मानव अस्तित्वको दिगो आधार भएकोमा जोड दिएका थिए।

कार्यक्रममा निर्णायक मण्डलले तर्क प्रस्तुत गर्ने शैली, तथ्य प्रस्तुत गर्ने क्षमता, आत्मविश्वास र भाषणकौशलको आधारमा परिणाम घोषणा गरेको थियो। विजेताहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो।

उक्त प्रतियोगितामा मण्डला इन्टरनेसनल स्कुलले प्रथम स्थान हासिल गर्यो। त्यसैगरी द्वितीय स्थान लिटिल क्लाइम्बर्स स्कुलर ठुलो भर्याङ र दि एक्सेल पब्लिक स्कुल, स्वयम्भूले हात पार्यो। त्यस्तै तृतीय स्थान नागार्जुन भ्याली ऐकेडेमी, र सान्वना ज्योति ऐकेडेमी सितापाइला, आर्या ऐकेडेमी सितापाइला, काठमाडौं भ्याली स्कुल रानीवनले हासिल गर्यो। उक्त प्रतियोगितामा इन्करेजिङ ओर्याटरी अवार्ड : वाटिका स्कुल रानीवनकी छात्रालाई प्रदान गरिएको थियो।


उक्त प्रतियोगिता नागार्जुन प्याव्सन अध्यक्ष वासुदेव घिमिरेको सभापतित्वमा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगितामा वक्ताको रुपमा वाटिका स्कुलका संस्थापक प्रिन्सिपल युवराज बस्ताकोटी, सानका अध्यक्ष दिलिप रेग्मी , नागार्जुन प्याव्सनका उपाध्यक्ष डिवि ढकाल, आर्या ऐकेडेमीका प्रिन्सिपल दुर्गा गौतम , वाटिका स्कुलका अध्यक्ष मुना भट्टराई , निर्णायक द्वय किरण भट्ट र चक्र दवाडिरहेका थिए।


प्रतियोगिताका वक्ताहरुले यस किसिमका प्रतियोगिताले विद्यार्थीको अभिव्यक्ति क्षमता, विश्लेषणात्मक सोच र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गर्ने बताए। उक्त प्रतियोगितामा वाटिका स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

