सोमवार, भाद्र ३० २०८२
३०, भदौ/ काठमाण्डौ । अन्तरिम सरकारको मन्त्री परिषद्को पहिलो बैठकले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार यस दिन सरकारले सार्वजनिक बिदा दिएको छ । यस्तै बैठकले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताउनुभयो ।
यस्तै सरकारले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बैठकले आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताउनुभयो ।
यस्तै सरकारले भदौ २३ र २४ भएको आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूको नाममा जेन-जी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेश गरेको सबै प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।