सोमवार, जेठ ३१ २०७८
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको छ । कार्यविधि अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेसम्म जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाइ सक्नुपर्ने जनाएको छ।
शिक्षा विकास समन्वय इकाइमा पठाएको नतिजा असार महिनाभित्र राष्ट्रिय परीक्षा बोर्डमा सबै विवरण पठाइसक्नु पर्ने छ । कार्यविधि अनुसार विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई हुने भएको छ ।
अघिल्लो वर्ष ३ सदस्यीय मूल्यांकन समिति बनाइएकोमा यो वर्ष त्यसलाई परिवर्तन गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्ने कार्यविधिमा व्यावस्था गरिएको एसईई परक्षिा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताउनु भयो ।
५ सदस्यीय मूल्यांकन समितिमा विद्यालयले गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक, प्रधानाध्यापक र एक जना वरिष्ठ शिक्षक समावेश गरी बनाउनुपर्नेछ ।
कोभिड -१९ महामारीका कारण भौतिक रुपमा एसईई परीक्षा सञ्चालन गर्ने अवस्थो नभएपछि यो वर्ष पनि राष्ट्रिय परक्षिा बोर्डले विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार भएको र सोमबार सबै विद्यालयलाई कार्यविधि अनुसार विद्यार्थीको मूल्यांकनका आधारमा नतिजा तयार पर्न निर्देशन दिने तयारी रहेको एसईई परक्षिा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताउनु भयो ।
विषय शिक्षकले विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतका विषयलाई हेरेर विद्यार्थीलाई २० प्रतिशत अंक दिन सक्ने छन् । विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकनका आधारमा ५५ प्रतिशत, प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
यदि प्रयोगात्मक नभएमा विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतका विषयलाई हेरेर २५ प्रतिशत र विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकनका आधारमा ७५ प्रतिशत अंक दिन सक्न मूल्यांकन आधार तोकिएको छ ।
कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ले तोकेको आधारमा विषय शिक्षकले मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ । त्यसरी विषय शिक्षकले पेश मूल्यांकनलाई समितिले कार्यविधिले व्यावस्था गरे अनुरुप छ÷छैन रुजु गरी प्रमाणित गर्नेछ । रुजु गरेर पैमाणित गरिसके पछि मूल्यांकन समितिले नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाइ सक्नु पर्ने छ ।