बुधवार, कार्तिक २७ २०८२
२६, कार्तिक/ काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा, सानोठिमी भक्तपुरले देशभरका सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गा विवरण माग गरेको छ।
केन्द्रले मंगलवार एक सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कात्तिक १९ को पत्रका आधारमा सबै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइहरूलाई जग्गासम्बन्धी विवरण यथाशिघ्र पठाउन निर्देशन दिएको हो।
यसअघि शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालय र सिकाइ केन्द्रका जग्गा हिनामिना भएको भन्ने गुनासो आएकोले सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रका नाममा भएका जग्गा बिवरण, तिनको भोगचलनको अवस्था र जग्गा सम्बन्धी के कस्ता समस्या छन् देशै भरिका विद्यालय र सिकाइ केन्द्रलाई त्यसको विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो।

निर्देशनअनुसार विद्यालयहरूको नाम, तह, ठेगाना, जग्गाको क्षेत्रफल, जग्गा भोगचलनको अवस्था र सम्भावित समस्या उल्लेख गरी विवरण पठाउन भनिएको छ। सो विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इमेल ठेगाना cehrd.ss@gmail.com मा पठाउन अनुरोध गरिएको छ।
केन्द्रकी शाखा अधिकृत शान्ति बिष्टद्वारा जारी पत्रमा भनिएको छ,‘मन्त्रालयको निर्देशनअनुसार हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गा विवरण माग भई आएको हुँदा माग भएको ढाँचामा विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।’
