शनिवार, मंसिर ७ २०८२
६, मंसिर/ काठमाडौँ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले सरुवा कुरेर बसेका शिक्षकहरुलाई लक्षित गर्दै तयार गरिएको ‘शिक्षक सरुवा कार्यविधी’ संशोधन हाललाई अघि बढ्न नसक्ने जानकारी सार्वजनिक गरेका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै यस्तो जानकारी दिएका हुन्।
अन्याय र मर्कामा परिरहेका शिक्षकलाई सहज वातावरण बनाउने उद्देश्यले मन्त्रालयले करिब तीन हप्ता लगाएर कार्यविधी संशोधनको प्रारम्भिक खाका तयार गरेको थियो। तर सो कार्यविधी सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भई विचाराधीनमा रहेकाले प्रक्रिया अगाडि बढाउन नसकिने स्थिति आएको मन्त्री पुनले बताए।
उनले सर्वोच्चमा मुद्दा परेपछि कानुनी रूपमा कुनै पनि संशोधन अघि बढाउन सम्भव नभएको तथा सरुवा प्रक्रियामा रहेकाहरूले केही समय प्रतीक्षा गर्नुपर्ने बताए। साथै पुनले कार्यविधीलाई अगाडि बढाउन मुद्दावाला पक्षले मुद्दा फिर्ता लिनु पर्ने आवश्यकतासमेत उत्पन्न भएको बताएका छन्।
मन्त्री पुनले लेखेका छन्, 'सरुवा कुरेर बस्नु भएका शिक्षकहरुलाई जानकारी - शिक्षक सरुवा कार्यविधीलाई संशोधन गरेर अन्याय र मर्कामा परेका शिक्षकहरुलाई केहि सहज बनाउन प्रयास स्वरूप तीन हप्ता लगाएर संशोधनको खाका तयार गरियो । तर हिजो सर्वोच्च अदालतमा मुद्दा परेर बिचाराधिनमा रहेको भन्ने जानकारी प्राप्त भएकोले हाललाई केहि गर्न नसकिने देखियो। मुद्दावालाहरुले मुद्दा फिर्ता गर्नु पर्ने भयो।'