शुक्रवार, मंसिर २० २०८२
काठमाडौँ । स्कुल एसोसिएसन अफ नेपाल (School's Association of Nepal–SAN) को आयोजनामा 'San Kinder Talent Show–2082' रानिवनस्थित सोफिज वर्ल्ड स्कुलमा सम्पन्न भएको छ। कार्यक्रम बिहीवार सानका अध्यक्ष दिलिप रेग्मीको सभापतित्वमा सम्पन्न भएको हो।

'ट्यालेन्ट सो' मा सानसम्बद्ध १५ विद्यालयका नर्सरी, एल.के.जी. र यु.के.जी.का सानासाना बालबालिकाहरुले सहभागी जनाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले बालबालिकाहरुले खेर जाने प्लास्टिक, कागज, बोरा लगायतका सामग्री पुनः प्रयोग गरी तयार गरिएका सिर्जनशील पहिरनहरू पहिरी प्रस्तुत गर्दै पुनः प्रयोग र वातावरण संरक्षणको सन्देश दिएका थिए।

उक्त ट्यालेन्ट सो मा विद्यार्थीहरूले र्याम्प वाकसँगै नृत्य, गायन तथा छोटा भाषणहरू प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। SAN का अनुसार प्री–स्कूलदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि नियमित रुपमा यस्ता कार्यक्रमहरू गर्दै आएको जनाएको छ। कार्यक्रमले एक स्कुलका राम्रो अभ्यासहरू अर्को स्कुलले सिक्न सक्ने र बालबालिकाको सिर्जनशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ।

कार्यक्रममा स्वागत मन्तव्य सानका सचिव बाबुराम गौतमले राखेका थिए भने शुभकामना मन्तव्य उपाध्यक्ष प्रकाश मरासिनीले दिएका थिए। कार्यक्रमका प्रमुख अतिथी गीतकार तथा साहित्यकार डा. बम बहादुर थापा जिताली रहेका थिए। उक्त सोफिज वर्ल्ड स्कुलका प्रिन्सिपल अजितराज पाण्डेले पनि कार्यक्रमबारे आफ्ना विचार व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा ग्लोबल भिजन स्कुलका प्रिन्सिपल चन्द्र वाग्ले, फ्युचर स्टारका प्रिन्सिपल प्रसोनराज भण्डारी, एनआइसीका प्रिन्सिपल सुगन्धराज रेग्मी, बाटिका स्कुलका प्रिन्सिपल मुना भट्टराई, प्रसिद्ध मोडलका निर्देशक विकास खनाल, प्रेरणा ज्ञान वाटिकाका प्रिन्सिपल भोला राउत, इडु समिटकी प्रिन्सिपल सन्जु प्रधान लगाएत सानका पदाधिकारी, सदस्य तथा सम्बद्ध विद्यालयका प्रिन्सिपल, शिक्षकहरुको उपस्थिति रहेको थियो।



