बुधवार, मंसिर २५ २०८२
२४ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् । बुधबार प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले विद्यार्थीहरुलाई दीक्षित गर्नुभयो।
३१ औं दीक्षान्तर समारोहमा स्कूल अफ आर्टसका ८३ जना, स्कूल अफ एजुकेसनका २ सय ९४, स्कूल अफ इन्जिनियरिङका ३ सय ४०, स्कूल अफ लका ३६, स्कूल अफ मेनेजमेन्टका ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका ८ सय ८१ र स्कूल अफ साइन्सका १ सय ९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएको उपकुलपति प्रा.डा अच्युत वाग्लेले जानकारी दिनुभयो ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना छन् । त्यस्तै पुरुष ५२ दशमलव २४ प्रतिशत अर्थात् १ हजार १ सय ५४ जना र महिला ४७ दशमलव ७६ प्रतिशत एक हजार ५५ जना छन् ।
समारोहमा अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अर्थात् विदेशी विद्यार्थी रहेका थिए।
काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स अफ फिलोसेफी बाइ रिसर्च इन म्याथम्याटिक्समा १ जना र ब्याचलर अफ साइन्स इन अग्रिकल्चर मा २९ जना दीक्षित भएका छन् । भने स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक मास्टर्स अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भएका छन् ।
स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस् इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एण्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कयास्टिलानो मेन्चासालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरब सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमविए तहमा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९४ ल्याउने स्कूल अफ म्यानेटमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३.९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दंगाललाई प्रदान गरिएको छ ।
स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८२ दशमलव १७ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी, स्नातक तह (स्कुल अफ म्यानेटमेन्ट) मा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९९ प्रतिशत प्राप्त गर्ने स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र ब्याचलर अफ बिजनेस मेनेजमेन्ट र ब्याचलर अफ ल कार्यक्रममा सबैभन्दा बढी सीजीपीए ३ दशमलव ३९ प्राप्त गर्ने स्कुल ल का आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिएको छ ।
हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या ५ हजार ८६० अर्थात् करिब १२ प्रतिशत रहेको छ ।
दीक्षान्त समारोहमा बोल्दै कुलपती तथा प्रधानमन्त्री कार्कीले प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था राख्न परामर्स भइरहेको बताउनुभयो । उहाँले नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्न कुलपतिमा प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
विश्वविद्यालयको केन्द्रीय परिसरमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सह–कुलपति महावीर पुन सहभागी रहनुभयो ।