शुक्रवार, पौष ४ २०८२
०४/ पुस । काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले पुरानो नाम परिवर्तन गरि नेपालीपन झल्किने गरी विद्यालयको नाम राखेका छन् । गत वर्षदेखि नै महानगरले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कने गरी नाम परिवर्तन गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभागले जनाएको छ।
हाल काठमाडौँ महानगरपालिकाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्था ७८४ विद्यालय रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिए।
त्यसैगरी, कामपाले आफ्नोमातहतका विद्यालयबाट शैक्षिकसत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्रादान गरेको पनि जानकारी दिएको छ।
कामपाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा पाँच हजार ८९५, दलित छात्रवृत्तिमा एक हजार ३२२, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको बताइएको छ।
त्यस्तै, संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा तीन हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका ज्ञावालीले जानकारी दिए।
शिक्षातर्फ यस वर्षका लागि ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार बजेट विनियोजन गरिएको थियो। यसको ५३.८ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार खर्च भएको छ ।
यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अर्ब ४ करोड ८५ लाख २७ हजार विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख पाँच हजार खर्च भएको छ। ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ६० करोड विनियोजन गरिएकोमा ५ करोड एक लाख ६६ अर्थात् ८.४ प्रतिशत खर्च भएको कामपाको भनाइ छ।
त्यसैगरी, शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख विनियोजन भएकोमा चार करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भयो। संघीय स:सर्त अनुदानबाट १ अर्ब ४२ करोड ३४ लाख ५० हजार प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड २२ लाख खर्च भएको बताइएको छ।