सोमवार, पौष ७ २०८२
७ पुस/ काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालु आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षकको तलब तथा भत्ता नपुग हुने स्थानीय तहलाई तोकिएको ढाँचामा विवरण पठाउन निर्देशन दिएको छ। आइतवार केन्द्रको योजना तथा अनुगमन शाखाले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै नपुग भएको रकम विवरण माग गरेको हो।
शिक्षक दरबन्दी मिलानपछि कायम भएको स्थानीय तहगत स्वीकृत दरबन्दी तथा अनुदानका शिक्षकका लागि नियमानुसार तलब भत्ता हिसाब गरी वित्तीय हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ।
विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत तहगत शिक्षकको वार्षिक तलब तथा भत्तामा कमी वा बढी देखिएमा त्यसको आधार र औचित्य खुलाएर कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२/८३ को अनुसूची-१ बमोजिमको ढाँचामा विवरण तयार गर्न सूचना मा भनिएको छ।
स्थानीय तहले प्रमाणित विवरण २०८२ माघ मसान्तभित्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ। त्यसपछि शिक्षा विकास तथा समन्वय एकाइले जिल्लाका लागि स्वीकृत दरबन्दी तथा राहत अनुदान कोटासँग विवरण भिडान गरी यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ। यकिनपछि तलब भत्ता अपुग वा बढी भएको देखिएमा आवश्यक सिफारिससहित २०८२ फागुनको पहिलो हप्ताभित्र केन्द्रको योजना तथा अनुगमन शाखाको इमेल planning.cehrd@gmail.com मा पठाउन केन्द्रले आग्रह गरेको छ।
साथै, स्थानीय तहले नपुग हुने तलब भत्ता माग गर्दा दरबन्दी मिलान गरी स्थानीय तहका लागि कायम भएको दरबन्दी संख्या तथा इकाइबाट दरबन्दी मिलानका क्रममा थप भएको शिक्षक दरबन्दी संख्या भए सोसमेत एकीकृत गरी सोको प्रमाणित प्रति समेत राखी पठाउन अनुरोध गरेको छ।
यस्तो छ सूचना !
