सोमवार, पौष ७ २०८२
७, पुस/ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत र २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित तथा आंशिक परीक्षार्थीका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ।
बोर्डले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार परीक्षा शुल्क दाखिला गर्ने मिति २०८२ पुस मसान्तसम्म तोकिएको शुल्क र सो समयभित्र शुल्क बुझाउन नसक्ने परीक्षार्थीहरूले भने २०८२ माघ १५ गतेसम्म विलम्ब शुल्कसहित परिक्षा आवेदन फारम भर्न सक्ने जनाएको छ।
विद्यालय तथा क्याम्पसहरूले विद्यार्थीले भरेको आवेदन फाराम, बैंक भौचर वा डिजिटल भुक्तानी प्रमाणसहित २०८२ माघ २५ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ।
बोर्डका अनुसार नियमित परीक्षार्थीहरूले कक्षा ११ मा न्यूनतम D ग्रेड (सैद्धान्तिक) र ८ ग्रेड (आन्तरिक/प्रयोगात्मक) हासिल गरेको हुनुपर्ने नियम रहेको छ। आंशिक परीक्षार्थीहरूले भने कक्षा १२ मा प्राप्त पुरानो ग्रेडसिट अनिवार्य संलग्न गर्नुपर्नेछ। आंशिक परीक्षार्थीले Not Graded (NG) वा अनुपस्थित विषयमा मात्र आवेदन फाराम भर्नुपर्नेछ।
कक्षा ११ मा अध्ययन गरेको विषय र समूह अनुसार नै कक्षा १२ मा फाराम भरी परीक्षा दिनुपर्ने र विषय परिवर्तन गर्न नपाइने बोर्डले स्पष्ट गरेको छ।
अनलाइन आवेदन फाराम प्रविष्टि २०८२ पुस १५ गतेदेखि माघ २५ गतेसम्म खुला हुनेछ। विद्यालयहरूले https://exam.neb.gov.np वा www.neb.gov.np मार्फत Online Entry गर्न सक्नेछन्। बोर्डले आन्तरिक/प्रयोगात्मक अङ्क तोकिएको ग्रेड (C) नपुगेमा परीक्षाबाट बञ्चित गरिने चेतावनीसमेत दिएको छ।
यस्तो छ सूचना ।

