बिहिवार, पौष १० २०८२
१०, पुस/ काठमाडाैँ। त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगत्का अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन्।

समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी थिए । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्।
दशरथ रङ्शालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि रहेका थिए।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयबाट मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका मध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए।

विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पदकबाट पुरस्कृत भएका छन्। त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन शंकायका एमफील तहका हिरा श्रेष्ठले पाएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् । त्यस्तै श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्ले पाएकी छन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।
दीक्षान्त समारोहमा अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले पाएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् । मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाएकी छन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।
शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले पाएका छन् । उनले ३.८२ सीजीपीए ल्याएका छन् । डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले पाएका छन् । उनले ३.८१ सीजीपीए ल्याएका छन् ।
सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाएकी छन् । उनले ३.९० सीजीपीए ल्याएकी छिन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाएकी छन् । रात्नराज्य लक्ष्मी क्याम्पसमा पढेकी उनले ३.८८ सीजीपीए ल्याएकी छिन् । बल्खुले सार्वजनिक गरेको सूचनामा डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाएकी छन् ।
इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले पाएकी छिन् । उनले ३.८० सीजीपीए ल्याएकी छिन् । नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाएकी छन् । उनले ३.६८ सीजीपीए ल्याएकी छिन् ।
तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाएकी छिन् । उनले ३.६७ सीजीपीए ल्याएकी छिन् ।
खगेन्द्रमान सिं प्रधान पदक एमए अर्थशास्त्र विषयमा पनि उनले नै पाएको परीक्षा नियन्त्रण कार्यालयको सूचनामा उल्लेख छ । चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि श्रीज्याले नै पाएकी छिन् । तीन पदक पाएकी उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी हुन् । सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले पाएकी छन् । उनले ३.४५ सीजीपीए ल्याएकी छिन् । भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएकी छन् । उनले ३.९९ सीजीपीए ल्याएकी छन् । सत्य माँ स्मृति स्वर्ण पदक बीबीएका आकृति झाले नै पाएकी छन् ।
लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले पाउने भएका छन् । ल क्याम्पसमा पढेका उनले ३.७१ सीजीपीए ल्याएका छन् ।
शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका स्नातक तह बीई सिभिलका शाशिष थापाले पाएका छन् । उनले ८४.२१ प्रतिशत ल्याएका छन् ।
छत्र बहादुर पदक बीबीएसका समिता डंगोलले पाएकी छिन् । उनले ८०.७० प्रतिशत ल्याएकी छिन् । सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट सङ्गीता प्रजापतिले पाएकी छन् । उनले ७५.१५ प्रतिशत ल्याएकी छिन् ।
दीक्षान्त समारोहमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ। विश्वविद्यालयका उपकुलपति प्रा दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाइ दिए।
