सोमवार, पौष १४ २०८२
काठमाडौँ । शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहको शिक्षा तथा विकास (Education and Development) विषयको परीक्षा प्रश्नपत्र गत वर्षकै प्रश्नपत्रसँग हुबहु दोहोरिएको पाइएको छ । यस घटनाले परीक्षा प्रणालीको विश्वसनीयता र गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ।
हालै सम्पन्न उक्त विषयको परीक्षामा सहभागी विद्यार्थीहरूले प्रश्नपत्र हेर्ने बित्तिकै अघिल्लो वर्षको प्रश्नपत्रसँग शब्दशः मिल्दोजुल्दो रहेको बताएका छन्। प्रश्नहरूको क्रम, शब्दावली तथा संरचना समेत कुनै परिवर्तन नगरी दोहोरिएको पाइएपछि विद्यार्थी तथा सरोकारवाला निकायबीच व्यापक असन्तोष देखिएको छ।
विद्यार्थीहरूका अनुसार स्नातकोत्तर तहजस्तो उच्च शैक्षिक स्तरमा यस किसिमको लापरवाही हुनु चिन्ताजनक विषय हो। “उच्च तहको परीक्षामा नयाँ सोच, अनुसन्धान र विश्लेषण क्षमताको मूल्याङ्कन हुनुपर्नेमा पुरानै प्रश्न दोहोरिनु हाम्रो मेहनतको अवमूल्यन हो,” एक विद्यार्थीले प्रतिक्रिया दिएका छन्।
शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूले पनि यस घटनालाई परीक्षा व्यवस्थापनको कमजोरी का रूपमा लिएका छन्। उनीहरूका अनुसार प्रश्नपत्र निर्माण, छानबिन तथा गोपनीयता कायम गर्ने संयन्त्र प्रभावकारी नहुँदा यस्ता गल्ती दोहोरिन सक्ने जोखिम बढ्दै गएको छ।
यस विषयमा सम्बन्धित निकायले हालसम्म औपचारिक धारणा सार्वजनिक नगरे पनि आन्तरिक छानबिन सुरु गरिएको स्रोतले जनाएको छ। प्रश्नपत्र निर्माणमा संलग्न व्यक्ति वा समूहको लापरवाही भएको हो वा नियोजित रूपमा प्रश्न दोहोरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।
शिक्षा क्षेत्रसँग सम्बन्धित संघ–संस्था तथा अभिभावकहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। साथै, भविष्यमा यस्ता कमजोरी नदोहो¥याउन प्रश्नपत्र प्रणालीमा सुधार, बहुस्तरीय जाँच प्रक्रिया र जिम्मेवार निकायको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ।
स्नातकोत्तर तहका परीक्षामा देखिएको यस किसिमको गम्भीर त्रुटिले समग्र शैक्षिक प्रणालीको गुणस्तरमाथि प्रश्न खडा गरिरहेको छ। अब यस विषयमा सम्बन्धित निकायले कस्तो कदम चाल्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

