बुधवार, पौष १६ २०८२
१५, पुस/ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) सेवा आयोगले प्रकाशन गरेको कम्प्युटर विज्ञान विषयको उपप्राध्यापक पदको उम्मेदवार सूचीमा पारदर्शिता नभएको आरोप लगाउँदै Student Association of Computer Science का आन्दोलित भएका छन्।

आयोगद्वारा प्रकाशित उम्मेदवार सूचीमा Partial Equivalency का आधारमा न्यूनतम योग्यता नपुगेका व्यक्तिलाई परीक्षामा समावेश गरिएको भन्दै Student Association of Computer Science सचिव केशव बनियाँ त्रि.वि. उपकुलपति कार्यालय अगाडि अनिश्चितकालीन अनसन सुरु गरेका छन्। उनले मागहरू सम्बोधन नभएसम्म अनसन जारी रहने उनले बताएका छन्।
यसै विषयलाई लिएर कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (CSIT) अध्ययनरत विद्यार्थीहरूले पछिल्ला दिनहरूमा त्रि.वि. सेवा आयोगको उम्मेदवारी प्रक्रिया विरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन्। उनीहरूको आरोप छ—सेवा आयोग र विश्वविद्यालयका सम्बन्धित पदाधिकारीको मिलेमतोमा योग्य उम्मेदवारलाई अन्याय गरिएको छ।

Computer Science and Information Technology क्षेत्रसँग सम्बन्धित संघ–संगठनले जारी गरेको विज्ञप्तिमा २०८२ पुस १६ गतेदेखि सम्पूर्ण क्याम्पस तथा कलेजहरूमा पठन–पाठन अनिश्चितकालीन बन्दको घोषणा गर्दै आन्दोलनको समर्थनमा CSIT/ BIT/ BITM/ BCA/ M.Sc. CSIT/ MIT/ MCA कार्यक्रमका कक्षा अनिश्चितकालीन रूपमा बन्द गरी आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल गरिएको छ।
विज्ञप्तिमा त्रि.वि.ले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयलाई गुणस्तरभन्दा पनि कमाइको साधन का रूपमा मात्र हेरेको आरोप लगाइएको छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बेला आफ्नै विश्वविद्यालयभित्र यस विषयले पहिचान खोज्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको उल्लेख गरिएको छ।
विद्यार्थीहरुले मागहरू पूरा नभएसम्म अनसन र आन्दोलन निरन्तर जारी रहने जनाउँदै आन्दोलनकारीहरूले देशभरका CSIT तथा IT क्याम्पस, स्ववियु, विद्यार्थी संगठन, शिक्षक, कर्मचारी, क्याम्पस प्रमुख तथा अभिभावकहरूलाई ऐक्यबद्धता जनाउन हार्दिक अपिल गरेका छन्।
क्याम्पस तथा कलेजहरूले आन्दोलनको अपिल बेवास्ता गरेमा Computer Science Alumni Association ले त्यसलाई आफ्नो नोटमा राख्ने चेतावनी समेत दिइएको छ।
• CSIT/ BIT/ BITM/ BCA/ M.Sc. CSIT/ MIT/ MCA जस्ता समयसापेक्ष विषयहरूमा गरिब तथा मध्यम वर्गका विद्यार्थीले निःशुल्क तथा सर्वसुलभ रूपमा अध्ययन गर्न पाउने व्यवस्था गरिनु पर्ने।
• अधिकांश क्याम्पस तथा कलेजहरूमा विद्यार्थी सङ्ख्याको अनुपातमा प्रयोगशाला (Lab) र कक्षा कोठाको पर्याप्त व्यवस्था तुरुन्त गर्नुपर्ने।
• त्रि.वि.को नियम अनुसार प्रति कार्यक्रम कम्तीमा ५ जना पूर्णकालीन शिक्षक अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने।
• कम्प्युटर विज्ञान तथा सूचना प्रविधि उपप्राध्यापक पदको विज्ञापनमा न्यूनतम शैक्षिक योग्यता नपुगेका उम्मेदवारलाई परीक्षामा समावेश गर्ने कार्य तुरुन्त सच्याइनु पर्ने।
• २५ वर्षभन्दा लामो इतिहास बोकेको BIM/BITM कार्यक्रममा स्थायी शिक्षक दरबन्दी कायम गरी तत्काल उपप्राध्यापक पदको विज्ञापन गर्नुपर्ने।
