शुक्रवार, पौष २५ २०८२
२५, पुस/ काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON) को स्थापना भएको ३५ औं स्थापना दिवसको अवसरमा विशिष्ट व्यक्तित्व सम्मान तथा बिशेष सांस्कृतिक कार्यक्रमसहित भब्य रुपमा सम्पन्न गरेको छ।

बिहीवार प्याब्सन काठमाडौँको आयोजनामा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्यूत वाग्लेको प्रमुख आतिथ्यमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा विविध सांस्कृतिक कार्यक्रम तथा बिशिस्ट ब्याक्तित्व सम्मान समारोहसहित ३५ औं स्थापना दिवस सम्पन्न गरेको हो।

उक्त समारोहमा समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूलाई नगद पुरस्कारसहित सम्मान गर्दै भव्यताको साथ उल्लासमय ढंगले कार्यक्रम सम्पन्न गरिएको थियो। समारोहमा प्याब्सन काठमाडौं जिल्ला अन्तर्गतका पालिकाका विद्यालयहरूले तयार पारेका सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुति प्रदर्शन गरिएको थियो। उक्त समारोहमा बिपन्न, जेहेन्दार विद्यार्थी तथा समाजसेवा क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरिएको थियो।

जसअन्तर्गत MECEE (MBBS) को प्रवेश परिक्षामा सर्वोत्कृष्ट हुने अस्तित्व ओझा, IOE (Engineering) प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुने आयुस पराजुलीलाई नगद ५० हजार सहित सम्मान गरिएको थियो। यस्तै, विपन्न परिवारबाट MECEE (MBBS) प्रवेश परीक्षा उत्तीर्ण गरी छात्रवृत्तिमा अध्ययन गर्न लागेका सत्यनारायण साफी र पवनदेव माझीलाई समेत नगद ५० हजारसहित सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा चट्टानी पाहाड फोडेर बाटो बनाउने दाङका चन्द्रविर ओली र देउडा गायक तथा स्रष्टा नन्दकृष्ण जोशी र खेल क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कुमार राईलाई समेत नगद ५० हजार सहित सम्मान गरिएको थियो। त्यसैगरी प्याब्सनका संस्थापक बसन्त बहादुर श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।

समारोह प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेस शिक्षा बिभाग प्रमुख नैनसिंह महर, नेकपा एमाले उपमहासचिव योगेश भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टिका शिशिर खनाल, प्याब्सनका प्रमुख सल्लाहकार डिके ढुङ्गाना, हिसानका अध्यक्ष युवराज शर्मा , नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने , शिक्षा बिकास तथा समन्वय इकाई काठमाडौका प्रमुख डा. समन्तमणी आचार्य, प्याब्सनका संस्थापक बसन्त बहादुर श्रेष्ठ, वरिष्ठ सल्लाहकार तथा पुर्व अध्यक्ष भोजबहादुर शाह लगाएत बिशिस्ट ब्यक्तित्वहरुको उपास्थिती रहेको थियो।

समारोहमा प्याब्सन सम्बद्ध विद्यालयका प्रिन्सिपल, फाउन्डर, डाइरेक्टर तथा शिक्षक कर्मचारी लगाएत काठमाडौँका विभिन्न विद्यालयका विद्यार्थीहरुले एकेडेमी हल खचाखच भरिएको थियो।
समारोह प्याब्सन काठमाडौँ जिल्ला सचीव कृष्ण भण्डारीले संचालन गर्नुभयो । साथै उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुर्य बहादुर के.सी.ले स्वागत मन्तव्य दिनुभयो।

वि.सं. २०४७ साल पौष २४ गते दर्ता गरि प्याब्सनको स्थापना भएको थियो। निजी तवरबाट सञ्चालनमा रहेका विद्यालय, त्यहाँ अध्यापनरत शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक, प्रिन्सिपल तथा विद्यार्थीहरूको हक–हितका लागि आवाज उठाउने साझा छाता संगठन प्याब्सन स्थापना कालदेखि नै सदस्य विद्यालयमार्फत नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएको छ।

राज्यले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिरहेको वर्तमान अवस्थामा निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ। प्याब्सनका सदस्य विद्यालयबाट शिक्षा हासिल गरेका विद्यार्थीहरू आज देशका विभिन्न क्षेत्रमा—प्रशासन, राजनीति, स्वास्थ्य, इन्जिनियरिङ, खेलकुद, कला तथा संस्कृतिमा—उत्कृष्ट योगदान दिइरहेका छन्।














